
बैंकिङ खबर/ वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरुकोे नाफा १५ प्रतिशतले वृद्धि भएको छ । बैंकहरुले वैशाख मसान्तसम्म ५३ अर्ब रुपैयाँ नाफा कमाएका हुन्। चैतमा ४५ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले वैशाखमा थप ७ अर्ब २५ करोड रुपैयाँ नाफा थपेका हुन्।
कुल नाफाको करिब ८० प्रतिशत हिस्सा ओगट्दै आएका वाणिज्य बैंकहरुको नाफा वैशाखमा ४७ अर्ब ७९ करोड रुपैयाँ छ। बैंकहरुले कर्जा नोक्सानी व्यवस्थापनमा राखेको सञ्चित रकमलाई नाफामा देखाउँदा त्यसले बैंकहरुको नाफा थप बढाउन पुगेको छ।
बैंकहरुले वैशाख महिनामा मात्रै यसरी कर्जा नोक्सानी व्यस्थापन शीर्षकमा राखेको २ अर्ब ६९ करोड रुपैयाँ नाफामा देखाएका हुन्। यसबाहेक बैंकहरुले लिलामीमार्फत गर्ने ऋण असुलीलाई पनि बढाएका छन्। बैंकहरुले वैशाख महिनामा ३२.२५ प्रतिशतले बढाएर कुल ३० करोड रुपैयाँ असुलेका छन्।
बैंकहरुको ब्याज आम्दानी १०.४६ प्रतिशतले बढेर ४ खर्ब ६९ अर्ब पुगेको छ भने कसिमन एन्ड डिस्काउन्ट शीर्षकबाट हुने आम्दानी १०.१२ प्रतिशतले बढेर ३१ अर्ब पुगेको छ। यस्तै विदेशी रकमको मूल्यमा हुने उतारचढावबाट पनि बैंकको आम्दानी चैतको तुलनामा वैशाखमा १४.७० प्रतिशतले बढेर ७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा बैंकहरुलेको गैरसञ्चालन आय पनि ८.१९ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।



