
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ६ वटा विषयमा अध्ययन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ। गभर्नर डा.विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा.रेवतबहादुर कार्की संयोजक रहने गरी कार्यदल गठन गरेका हुन्। कार्यदलमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल र पूर्वबैंकर भुवन दाहाल सदस्य छन्। एक महिनाको समय पाएको कार्यदलले ६ वटा विषयमा मुख्य अध्ययन गर्ने भएको छ।
यस्ता छन् कार्यदलका अध्ययन क्षेत्र
-बैंकिङ नीतिनियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा।
-आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा।
-ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा।
-बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा।
-नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा।
-पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा।




