Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कस्तो आउँला डा.पौडेलको पहिलो मौद्रिक नीति ?

२०८२ जेष्ठ २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि राय –सुझाव माग गरेको छ ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव भए पठाउन अनुरोध गरेको हो ।

राष्ट्र बैंकले बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति ल्याउने प्रावधान छ । यस वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने तथा संशोधन गर्नुपर्ने लगायतका आर्थिक उन्नतिका राय सुझाव भए केन्द्रिय बैंंकको इमेलमार्फत पठाउन अनुरोध गरेको छ ।

गभर्नर पौडेलको पहिलो मौद्रिक नीति

नेपालको अर्थतन्त्रलाई राम्रोसँग बुझेका १८ औं गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षका लागि ल्याउने मौद्रिक नीतिलाई चासोको रुपमा हेरिएको छ ।

यहि मौद्रिक नीतिले उनको पाँच वर्षे कार्यकालको दिशा निर्धारण गर्नेछ। यसमा उनलाई सरकारले ६ प्रतिशत आर्थिक वृद्धिका लागि चाहिने वित्तीय स्रोत परिचालन गर्नुपर्ने ‘टार्गेट’ दिएको छ ।

उनलाई ‘कोर’ अर्थशास्त्री नमान्नेको जमात पनि ठूलो छ। कृषि तथा स्रोत विज्ञ र आर्थिक इतिहासका मात्र जानकार भनेर उनीमाथि टिप्पणी हुने गरेको छ। त्यसलाई उनले पहिलो मौद्रिक नीतिबाटै चिर्नु पर्नेछ ।

देश दौडाहबाट लिए सुझाव

मौद्रिक नीतिलाई लक्षित गर्दै देश दौडाहमा निस्किएका गभर्नर पौडेल सोमबार काठमाडौं फर्किएका छन् । उनी देशको अर्थतन्त्रको अवस्था, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन, ग्रास रुट अवस्थामा जनताको आर्थिक उपार्जन लगायतका विषयमा बुझ्न उनी आफैँ निरीक्षणमा निस्किएका थिए ।

पौडेल आफ्ना दुई विभागीय प्रमुखलाई साथै लिएर देश दौडाहामा निस्किएका थिए । गभर्नरको हैसियतमा यो उनको पहिलो महत्वपूर्ण यात्रा हो, त्योभन्दा बढी उनको पुरानो बानीको निरन्तरता हो ।

सिंहदरबार र बालुवाटारका चारघेरामा बसेर बनाइएका योजनामा पौडेललाई खासै विश्वास मान्दैनन् । योजना आयोगको उपाध्यक्ष हुँदा पनि उनी जिल्ला-जिल्लामा पुग्थे । संयोगले केन्द्रीय बैंकको सर्वोच्च पदमा पुगेका पौडेल अहिले मौद्रिक नीति बनाउनु अघि देश दौडाहमा आफै निस्किए ।

गभर्नर पौडेलले ऋण तिर्न नसकेका साना उद्यमी, कृषकलगायतको फाइल बोकेर पोखराबाट देश दौडामा निस्किएका थिए । उनीसँग बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल पनि सँगै थिए ।

काठमाडौंबाट पोखरा ‘ल्यान्ड’ भएलगत्तै गभर्नरले छलफल सुरु गरेका थिए । उनको टोली बागलुङ, बुर्तीवाङ, रुकुम, जाजरकोट, दैलेख हुँदै सोमबार धनगढी झरेको थियो भने २६ गते गभर्नर ऋणीहरुसँग छलफल सकेर काठमाडौं फर्किएका छन् ।

कहाँ के भने ?

गभर्नर पौडेल गत शनिबार रुकुम पुगेका थिए । त्यहाँ उनले जनताका गुनासा सुनेका थिए । त्यसपछि उनी अछाम पुगेका थिए यस्तै उनी कर्णाली प्रदेशका विभिन्न जिल्ला हुँदै अछाम आइपुगेका गभर्नर पौडेलले कृषि क्षेत्र, व्यवसाय र व्यक्तिगत खराब कर्जाहरूको स्थलगत अध्ययन गरेका थिए ।

त्यहाँ उनले गभर्नरले आर्थिक गतिविधि चलायमान हुन नसक्दा ऋणहरू खराब बनेको र त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा परेको बताए।

‘आर्थिक स्रोतको खोजीमा मान्छेहरू पलायन भए,’ उनले भने, ‘कोही भारत गए, कोही अमेरिका त कोही दुबई गए। उनीहरू सबै सानोसाने खर्च जुटाउन हिँडेका हुन्।’ बैंकको पैसा साना व्यवसायी र सर्वसाधारणसम्म ऋणको रूपमा पुग्न नसकेको उनको आशय थियो। ‘साधारण मान्छेको आयआर्जनको आशाअनुसार नीतिगत सुधार हुनुपर्छ भन्ने मेरो सोच हो,’ उनले भने।

आइतबार जिल्ला समन्वय समिति अछामले गरेको स्वागत कार्यक्रममा बोल्दै गभर्नर पौडेलले सामान्य मान्छेले पनि ऋण पाउने गरी व्यवस्थापन गरे त्यसले नेपाल राष्ट्र बैंकको मान्यताअनुरूप सर्वसाधारणलाई पनि वित्तीय पहुँचमा जोड्ने बताए।

यसो गर्दा कृषि तथा पशुपालन क्षेत्रमा व्यापक सुधार हुने उनको विश्वास छ। त्यसका लागि किसानहरूले दुई–चार बाख्रा पालेर नहुने भन्दै योजनागत रूपमै अघि बढ्नुपर्ने उनले बताए।

गभर्नर डा. पौडेलले आइतबार अछाम जिल्लास्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी व्यवसायीहरूसँग पनि छलफल गरेका थिए ।

गुनासाका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु

यस्तै देश दौडाहकै क्रममा उनी सोमबार धनगढी पुगेका थिए । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए ।

गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए । जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए । उनले भने ‘सरोकारवालाका गुनासाका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’

गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिएका थिए ।