२०८२ जेष्ठ २५ गते

३ गुणाभन्दा बढीले बढ्यो ’डिम्याट खाता ’ खोल्नेको संख्या

बैंकिङ खबर/ ५ वर्षको समय अवधिभित्रै डिम्याट खाता खोल्नेको संख्या ३ गुणाभन्दा धेरैले बढेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु तथ्यांकअनुसार यो संख्या ५० लाख ५२ हजार ले बढेको छ । २०७७ सालसम्म जम्मा १७ लाख मात्रै डिम्याट खाता खोलेका थिए ।

पछिल्लो समय यो संख्या बढेर ६७ लाख नाघेको छ। सेबोनको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा डिम्याट खाता खोल्नेको संख्या ६७ लाख ५२ हजार ७०० पुगेको हो । यो तथ्यांकले पछिल्लो करिब ५ वर्षको अवधिमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या २९७.२२ प्रतिशतले बढेको देखाउँछ ।

२०७७ सालको असार मसान्तसम्म मात्र करिब १७ लाख डिम्याट खाता खोलिएका थिए। तर कोभिड महामारीपछिका दिनहरूमा सेयर बजारप्रतिको चासो बढ्दै जाँदा लगानीकर्ताको संख्यामा तीव्र वृद्धि भएको हो। आर्थिक वर्ष २०७७/७८ मा ३७ लाख ३६ हजार ९२६, २०७८/७९ मा ५२ लाख ६० हजार २५१, २०७९/८० मा ५८ लाख २३ हजार र २०८०/८१ मा ६२ लाख ७२ हजार ३५१ जनाले डिम्याट खाता खोलेका थिए।

सेबोनको तथ्यांकअनुसार डिम्याट खाता खोल्नेमा पुरुषको हिस्सा ५२.५७ प्रतिशत छ भने महिलाको ४२.४३ प्रतिशत पुगेको छ। प्रदेशअनुसार हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै, अर्थात् ३६.११ प्रतिशत डिम्याट खाता खोलिएका छन्। कोशीमा १८.८५ प्रतिशत, गण्डकीमा १२.८१ प्रतिशत, लुम्बिनीमा ११.८० प्रतिशत, कर्णालीमा ११.६४ प्रतिशत, सुदूरपश्चिममा ६.१८ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा २.६१ प्रतिशत मात्र खाता खोलिएका छन्।

डिम्याटसँगै सेयर कारोबारमा प्रयोग हुने ‘मेरो सेयर’ खाताको संख्या पनि तीव्र रूपमा बढेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५८ लाख १६ हजार नेपालीले ‘मेरो सेयर’ खाता खोलेका छन्।

आर्थिक वर्ष २०७७ सालमा यस्तो खाता खोल्नेको संख्या मात्र ७ लाख हाराहारीमा थियो। त्यसपछिका वर्षहरूमा क्रमशः २०७८ मा २८ लाख ५१ हजार ८०३, २०७८/७९ मा ४३ लाख ६८ हजार ६३९, २०७९/८० मा ४७ लाख ४१ हजार ५५ र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा ५३ लाख २२ हजार ९६९ पुगेको थियो।