Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकबाट ऋण लिन सक्ने अवस्था छैन, सरकार यसतर्फ गम्भीर हुनुपर्छः पूर्व अर्थमन्त्री शर्मा

२०८२ जेष्ठ १८ गते

बैंकिङ खबर/ पूर्व अर्थमन्त्री जनार्दन शर्माले हाल बैंकबाट ऋण लिन सक्ने अवस्था नरहेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा निजी क्षेत्र र बैंकिङ प्रणालीको वर्तमान अवस्थालाई गम्भीर रूपमा बुझ्न सरकारलाई सुझाव दिए ।

उनले व्यवसायी र बैंकर्सप्रति आफू प्रतिकूल नरहेको प्रष्ट पार्दै भने, ’पछिल्लो समय निजी क्षेत्रको विषय उठाउँदा सरकारविरुद्ध बोलेको आरोप लाग्ने स्थिति छ, जुन अस्वाभाविक हो।’ हाल बैंकबाट ऋण लिन सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताए।

शर्माका अनुसार निजी क्षेत्र मुलुकको आर्थिक संरचनाको महत्वपूर्ण हिस्सा हो र बजेटले त्यसलाई सम्बोधन गर्नु सकारात्मक संकेत हो। तर उनले बजेटमा देखिएका केही नीतिगत पक्षहरू राम्रो भए पनि त्यसको प्रभावकारिता र व्यवहारिकता परीक्षण गर्नुपर्ने धारणा राखे।

उनले देशको वर्तमान आयात–निर्यात सन्तुलनप्रति चिन्ता व्यक्त गरे। ’निर्यातभन्दा १० गुणा बढी आयात भएको अवस्थामा आर्थिक सन्तुलन कायम गर्न विशेष ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने। साथै, बजेटको खर्च संरचना गुणात्मक नदेखिएको बताउँदै आर्थिक वृद्धिमा त्यसले प्रतिफल नदिने जिकिर गरे।

नेपालमा फलाम उद्योगको संख्या ३७ पुगेको सन्दर्भ उठाउँदै उनले कच्चा पदार्थको आपूर्ति, प्रशोधन संयन्त्र र औद्योगिक नीति स्पष्ट हुनु आवश्यक रहेको उल्लेख गरे। निजी क्षेत्र उत्पादनमुखी बन्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए।