
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६९ खर्ब ११ अर्ब पुगेको छ । राष्ट्र बैंकको जेठ ११ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप (डिपोजिट) ६९ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
केन्द्रीय बैंकका अनुसार जेठ ११ गतेसम्म ५५ खर्ब ३७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो एक दिनमा बैंकिङ प्रणालीमा ९ अर्ब रुपैयाँले निक्षेप थपिएको छ भने थप ३ अर्ब मात्रै कर्जा विस्तार भएको छ । वित्तीय प्रणालीको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुको निक्षेप ६१ खर्ब ७५ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ३५ अर्ब पुगेको छ ।
तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये वाणिज्य बैंकहरुले ४९ खर्ब १९ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६९ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब ३७ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।
हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९७ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ८३ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।




