
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले सिफारिस गरेको ३ नाममध्ये मन्त्रिपरिषदले पौडललाई राष्ट्र बैंकको जिम्मेवारी सुम्पिएको हो ।
सरकारले पौडेल सम्मिलित गभर्नर सिफारिसको लागि गठित सिफारिस समितिको सदस्य बनाएको थियो । गभर्नरको नाममा कांग्रेस र एमालेबीच लामो रस्साकस्सीपछि पौडेललाई गभर्नर बनाउने सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिए ।
यता मन्त्रिपरिषदले पुरानो सिफारिस समिति विघटन गर्दै डा. पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ सिफारिस समिति गठन गरेको थियो । गभर्नर छान्ने जिम्मा पाएका पौडेल अन्तिममा आफैं गभर्नर बनेका छन् ।
यसअघि कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा अघि बढाउने गरी राजीनामा दिन लगाएका थिए ।
तर, कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले समितिको सदस्य रहेका पौडेललाई नै गभर्नर बनाउने प्रस्ताव गरेको थियो । २०८१ २४ चैत मा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पुरा भएसँगै गभर्नर रिक्त थियो ।
को हुन् पौडेल ?
२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको थियो । उनले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएका समेत काम गरेका थिए ।
त्यस्तै, कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गरेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए ।
पौडेलले नेपालको आर्थिक नीति निर्माण र योजना विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री देउवा रहँदा पौडेल २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्र इतिहासका ज्ञाता हुन् ।
डा. पौडेलका करिब दुई दर्जन अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । डा. स्वर्णीम वाग्ले राष्टिय योजना आयोगको उपाध्यक्ष हुँदा उनी विज्ञ सल्लाहकार थिए । पछि डा. प्रकाशशरण महत अर्थमन्त्री बन्दा पौडेल वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा काम पनि गरे ।
चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बक्र्ले) बाट कृषि तथा संशाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा प्राध्यापक हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ ।
डा. पौडेलले सानिमा बैंकको सञ्चालक समिति सदस्य, विश्वबैंकको लागि अल्पकालीन परामर्शदाता, सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकको भूमिका निर्वाण गरिसकेका छन् । उनले सानिमा बैंक लिमिटेडको निर्देशक, मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्री, र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको आर्थिक सल्लाहकारको रूपमा पनि कार्य गरेका छन् । सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताका रूपमा कार्यरत थिए । यसैगरी, इसिमोड बोर्ड अफ गभर्नरका अध्यक्ष, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार रहेका थिए ।




