Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर नियुक्तिमा ओलीले देउवालाई दिए तीन विकल्प

२०८२ बैशाख २६ गते

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तिका लागि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तीन विकल्प दिएका छन् । कांग्रेसभित्र प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिले निकास नपाएको गुनासो र आशंकाका बीच प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग तीनवटा विकल्प प्रस्ताव गरेका हुन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवा यसअघि नै सहमत भएका थिए। सोहीअनुसार भट्टले पनि वैशाख ५ गते आफ्नो राजीनामा बुझाएका थिए। तर कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा स्वीकृत गर्न मानेकी छैनन्। उनी पनि गभर्नरकै प्रत्याशी हुन्।

यसअनुसार गत बुधबारसम्म राजीनामा स्वीकृत गराएर बिहीबार नियुक्त नै गर्ने पछिल्लो वचन देउवालाई ओलीले दिएका थिए। तर वचनअनुसार ओली असफल भए। बिहीबार साँझ समेत बालुवाटारमा सभापति देउवासहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकसँग प्रधानमन्त्री ओलीको छलफल भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभापति देउवालाई तीनवटा विकल्प दिएका छन् । पहिलो ओलीले कामु गभर्नर नीलम ढुंगानालाई जसरी पनि ‘कन्भिन्स’ गरी गुणाकर भट्टको राजीनामा स्वीकृत गराउने र, भट्टलाई गभर्नर नियुक्त गर्ने, दोस्रो, नीलमले राजीनामा स्वीकृत नगरे पनि गुणाकरलाई गभर्नर नियुक्त गर्ने र, कुनै कानुनी समस्या आए सामना गर्ने र तेस्रो, गुणाकर भट्टको विकल्प खोज्ने विकल्प दिएको बताइएको छ ।

गठबन्धनलाई तलमाथि हुन नदिन कांग्रेस कोटाबाटै गभर्नर बनाउन तयार रहेको प्रष्ट सन्देश दिन ओलीले नयाँ प्रस्तावसहितको विकल्प दिएका हुन्।