केही दिनदेखि उकालो लागेर आशा जगाएको सेयर बजारले सोमबार पुनः लगानीकर्तालाई निराश तुल्याएको छ । कारोबार खुलेदेखि नै ओरालो लाग्न थालेको बजार १५१४.८८ अंकमा पुगेर बन्द भएको छ । दिनभरिमा सेयर बजार १६.४७ अंकले घटेको हो । उपपरिसूचकहरुमा, सबैभन्दा धेरै बीमा समूह १०३.४९ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः १८.२५, १५.६९, ७.०५, १८.७८, ३.४७ र ६.६५ अंकले घटेका छन् । उत्पादनमूलक समूह भने स्थिर रहेको छ ।
बजार घटेपछि कारोबार रकम पनि घटेको छ । आइतबार झन्डै ६२ करोडको कारोबार भएको बजारमा सोमबार ५६ करोडको कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको छ लाख ८९ हजार एक सय ९३ कित्ता सेयर चार हजार ६६ पटक खरिदविक्री हुँदा कुल ५६ करोड १६ लाख ४० हजार पाँच सय ६३ रुपैयाँ पुँजी परिचालन भएको छ ।
समग्र बजारमा गिरावट आएपनि एभरेष्ट बैंकको कारोबार भने आइतबारको तुलनामा बढेको छ । आइतबार १५ करोडको कारोबार भएको बैंकको सोमबार १६ करोड ४२ लाख ८७ हजार आठ सय सात रुपैयाँको कारोबार भएको छ । यसबाहेक, बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल एसबिआई बैंक, एनएमबि बैंकको प्रोमोटर सेयर, कुमारी बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नविल बैंक, हिमालयन बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
एनबि इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ९.७७ प्रतिशतका दरले कमाएका छन् भने समिट माइक्रोफाइनान्सका सेयरधनीले ५.१४ प्रतिशतका दरले कमाएका छन् । नमस्ते वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १, रिलायबल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
पोखरा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.६६ प्रतिशतका दरले गुमाएका छन् भने माछापूछ्रे बैंकका सेयरधनीले पनि ५ प्रतिशतले गुमाएका छन् । यसबाहेक, अरुण फाइनान्स, मिरमिरे माइक्रोफाइनान्स, बुटवल पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, कृषि विकास बैंक, अरुण भ्याली हाइड्रो, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



