
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिनुपरेको डा. भट्टराईले बताए ।
उनले मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएका छन् । ’उताबाट स्वीकृत होस्, नहोस् केही भएन । काम नै गर्न नपाएपछि समितिमा बसिरहनुको औचित्य छैन,’ डा. भट्टराईले भने । गत चैत ११ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठनको निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।
गभर्नर पद भने २४ चैतपछि रिक्त छ । गभर्नर सिफारिस प्रक्रिया नै अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको छ ।
उक्त समिति गठन भएको १ महिना बित्नै लाग्दा एउटा बैठक समेत बस्न सकेको छैन् । सत्तारूढ कांग्रेस र एमालेबीचमा भागबन्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ हुँदै आएको छ ।




