Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा रोजगारीको चुनौती : राम्रो मानिएको बैंकिङ जागिर छोड्दै विदेशीदै

admin २०८१ फाल्गुन २७ गते
सेयर:

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय बेरोजगारी समस्या एक चुनौतीको रुपमा देखा परेको छ । नेपालजस्तो विकासोन्मुख देशमा बरोजगारी समस्याले निकै पिरोलिरहेको छ । गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो। नेपाल बेरोजगारीको समस्याले आक्रान्त छ ।

बर्सेनी बेरोजगारी वृद्धिकोे कारणमा जनसंख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरणको अभाव, निजी क्षेत्रको व्यवसायको कमी हुनु र अन्य कारणले गर्दा बेरोजगार समस्या दिनानुदिन बढिरहेको छ । ग्रामीण क्षेत्रमा रोजगारीको अवसर नहुनाले र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउनाले आर्थिक अवस्था कमजोर हुनाले वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ थियो ।

यसरी विदेशीनेमा कति दक्ष छन् भने अधिकांश अदक्ष श्रमिकहरु नै रहेका छन् । अझ पछिल्लो समय राम्रो जागिर मानिएको सरकारी जागिर भनौ वा बैंकको जागिरै छाडेर विदेशीनेको संख्या पनि बढ्दै गएको छ ।

नेपालको एक वाणिज्य बैंकमा कार्यरत बैंकर भन्छन्, ‘के गर्नु सरकारको नीति नियमहरु नै त्यसरी आउँछ । कि बैंक र बैंकर दुबैलाई देश छोड्न बाध्य तुल्याउँछ ।’

अर्का बैंकका कर्मचारी भन्छन्,‘तलब नबढेको ३ वर्ष भन्दा धेरै भो । महंगी पनि ३ वर्षदेखि नबढेको भए नेपाली नेपालमै बस्थे होलान् । प्रहरीमा जस्तै नेपाली बैंकिङ क्षेत्रमा पनि माथिल्लो तहका हाकिमहरुको रिटायरमेन्ट हुने बेलामा गरिने बढुवा प्रवृत्ति मौलाएको छ । तर के गर्नु साना तहका कर्मचारीलाई कोही काखा कोही पाखा गरिन्छ । त्यसैले नेपालीहरु अझै पनि विदेशिने छन् । हेक्का रहोस्, नेपालीहरु अहिले पैसा भन्दा पनि ब्यालेन्स लाइफ जिउन चाहन्छन् ।’

अर्का बैंककै कर्मचारी गुनासो गर्छन,‘नीजि बैंकमा तलब नबढेको करिब ८ वर्ष भयो, अनि कसरी बैंकका कर्मचारी टिक्न सक्छन । बिहान ९ बजेदेखि राति ७-८ बजेसम्म बैंकभित्र नै काम गर्नुपर्छ ।’
यी त बैंकमा काम गर्ने कर्मचारीका केही प्रतिनिधि अनुभवहरु मात्रै हुन् । तर पछिल्लो समय बैंकमा काम छाड्दै विदेशीने क्रम बढ्दै गएको छ ।

एक वर्षमा ३ हजार बढी कर्मचारीले छाडे जागिर

नेपालमा पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा कार्यरत तीन हजार बढी कर्मचारीले जागिर छाडेका छन् । बैंकर्स संघका अनुसार २०७९/८० मा ४४ हजार ९ सय ६२ जना रहेको कर्मचारी संख्या २०८०/८१ मा ३३ सय ५९ ले घटेर जम्मा ४१ हजार ६ सय ३ जनामा सीमित भएको छ ।

अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ । प्रायः ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजीनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् ।

वार्षिक १५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने अधिकृत तहका कर्मचारीले पनि राजीनामा गर्दै विदेशी जान खोजेका छन् । बैंकरहरुका अनुसार गत वर्षमात्रै बैंकमा काम गरिरहेका ६–७ सय जना कर्मचारी जागिर छाडेर विदेशिएका छन् ।

बैंक वित्तीय संस्थाले विगतमा कर्जा लगानी गर्न दबाब दिएको अहिले व्यवसायीक वातावरण बिग्रेको अवस्थामा जसरी पनि कर्जा असूल गर्न टार्गेट दिँदा काम गर्न समस्या भएको कर्मचारीहरु बताउँछन् ।

अर्कोकुरा मर्जरपछि अर्को बैंकबाट आएका संस्थालाई व्यवस्थापनले बढी पेल्न थालेको छ । यसरी व्यवस्थापनको पेलाइ खाएर बस्नुभन्दा जागिरै छाडेर विदेशिनेहरु धेरै छन् ।

बैंकर्स संघले गरेको ‘कर्मचारी सर्वेक्षण’को नतिजाले बैंकिङ क्षेत्रको तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट रहेका कर्मचारीको अनुपात पछिल्लो २ वर्षमा करिब साढे ५ प्रतिशत बिन्दुले घटेको छ ।

सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पुर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ । २०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ ।

यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ । सन् २०२२ मा २१.०७ प्रतिशत कर्मचारी तलबप्रति असन्तुष्ट रहेकोमा २०२४ मा उक्त अनुपात बढेर २४.१० प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । आंशिक सन्तुष्ट रहेका कर्मचारीको अनुपात ५५.५४ प्रतिशतबाट बढेर ५७.९० प्रतिशत पुगेको हो ।

तलब मात्रै नभएर अन्य सेवासुविधामा असन्तुष्ट रहेको कर्मचारीको संख्या पनि बढ्दो छ । अन्य सेवासुविधामा पुर्णसन्तुष्ट कर्मचारी २०२२ मा १८.९७ प्रतिशत रहेकोमा २०२४ मा १३.४४ प्रतिशत मात्रै छ । आंशिक सन्तुष्ट कर्मचारीको अनुपात केही बढेको देखिन्छ । २०२२ मा यस्तो अनुपात ५६.२१ प्रतिशत रहेकोमा २०२४ मा ५८.५६ प्रतिशत पुगेको छ । यस्तै असन्तुष्ट कर्मचारी २४.८३ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको हो ।

बैंकमा करियर सुरक्षित नदेख्ने कर्मचारी बढ्दै

बैंकिङ क्षेत्रमा आफ्नो करियर वृद्धिको अवसर नदेख्ने कर्मचारी अनुपात २ वर्षको अवधिमा करिब ९ प्रतिशत बिन्दुले बढेको छ। बैंकर्स संघको सर्वेक्षण अनुसार २०२२ मा बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर नदेख्ने कर्मचारीको अनुपात २२.९५ प्रतिशत मात्रै थियो ।

२०२४ मा आउँदा उक्त अनुपात बढेर ३१.७६ प्रतिशत पुगेको छ । त्यहि बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा झरेको छ ।

बैंकिङ क्षेत्रका कर्मचारीले करियर वृद्धिको अवसर नदेखेको मात्रै होइन बैंकको जागिर र करियर नै असुरक्षित रहेको महशुस गर्ने कर्मचारी समेत बढ्दै गएका छन् । यस्तो कर्मचारीको अनुपात २०२२ मा ३९.३० प्रतिशत रहेकोमा २०२४ मा ४३.९६ प्रतिशत पुगेको छ । यस्तै जागिर र करियर सुरक्षित महसुस गर्ने कमीचारी २०२२ मा ६०.७० प्रतिशतबाट २०२४ मा ५६.०४ प्रतिशतमा घटेको छ ।

बैंकका कर्मचारीले जागिर छोड्नुका कारण 

प्रमोशन अवसरको कमीः लामो समयसम्म उही पदमा रहनु र अगाडि बढ्ने अवसर नपाउनु पनि जागिर छोड्नुको मुख्य कारण हो ।

सीप विकासको अभावः नयाँ सीप सिक्ने वा तालिमको अवसर नपाउँदा कर्मचारी असन्तुष्ट हुन सक्छन्।
कामको तनाव र असन्तुलन

अत्यधिक कामको बोझः लक्ष्य पूरा गर्न दबाब बढी हुनु।

काम र निजी जीवनको असन्तुलनः लामो समय काम गर्नु परेमा व्यक्तिगत जीवन प्रभावित हुन्छ।
मानसिक तनावः लगातारको दबाबले मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।

कम तलबः अन्य बैंक वा क्षेत्रसँग तुलना गर्दा कम तलब पाउनु।

बोनस र लाभको अभावः प्रदर्शनअनुसार प्रोत्साहन नपाउँदा कर्मचारी असन्तुष्ट हुन्छन्।

प्रबन्धकीय व्यवहारः खराब व्यवस्थापन वा कठोर नेतृत्वले कर्मचारीलाई असन्तुष्ट बनाउँछ।

कार्यस्थलको राजनीतिः भेदभाव, गुटबन्दी, वा अस्वस्थ प्रतिस्पर्धाले असहज वातावरण सिर्जना गर्छ।

मान्यता नपाउनुः राम्रो कामको कदर र पहिचान नहुनु।
क्यारियर परिवर्तनको इच्छा

नयाँ अवसर खोज्नुः नयाँ र विविध अवसर खोज्नको लागि कर्मचारीले जागिर परिवर्तन गर्छन्।

उद्यमशीलताः आफ्नो व्यवसाय सुरु गर्न चाहने कारणले पनि कर्मचारीले जागिर छोड्छन्।

बैंकको आर्थिक स्थितिः यदि बैंक अस्थिर छ भने कर्मचारीले सुरक्षित जागिर खोज्छन्।

संस्थागत पुनर्गठनः विभागीय पुनःसंरचना वा कर्मचारी कटौतीका कारण जागिर गुम्ने डरले अन्यत्र जान सक्छन्।

दूरको कामस्थानः बैंकको शाखा धेरै टाढा हुनाले यात्रा गर्न गाह्रो पर्न सक्छ।

स्थानान्तरणको असहमतिः कम्पनीले कर्मचारीलाई स्थानान्तरण गर्दा असन्तुष्टि हुन सक्छ।

अन्य बाह्य कारणहरू

प्रविधिको विकासः डिजिटलाइजेसन र स्वचालनले काममा चासो घट्न सक्छ।

परिवारिक कारणः परिवारको दबाब वा व्यक्तिगत कारणले जागिर छोड्ने निर्णय लिन सक्छन्।

‘बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ हो’

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष सुनिल केसी बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ रहेको बताउँछन् । उनी भन्छन्, ‘वित्तीय क्षेत्रमा दक्ष जनशक्ति आगामी दिनमा चुनौतीका रूपमा आउने देखिन्छ । एक दशक अगाडिसम्म नेपालमा एमबीए सकेका दीक्षित युवाको पहिलो रोजाइ बैंकमा जागिर खाने हुन्थ्यो । तर, परिवेश फेरिएको छ ।’

बैंकिङले क्षेत्रले आकर्षक रोजगारीमार्फत नेपालको सामाजिक अर्थतन्त्रको विकासमा ठुलो योगदान पु¥याएको थियो । जसले सामाजिक परिवेश र अवस्था नै परिवर्तन गर्न मद्दत गरेको थियो । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य यूएई, कतार, मलेसियाजस्ता मुलुक हुँदा शिक्षित युवाहरूको रोजाइ राम्रो सेवा–सुविधाका कारण बैंकिङ क्षेत्र हुने गरेको थियो । बदलिँदो सामाजिक परिवेशसँगै शिक्षित युवाहरूको पहिलो रोजाइ नेपालमा रोजगारीभन्दा पनि युरोप, अमेरिकामा जस्ता मुलुकमा अवसर खोज्न लागेका उनी बताउँछन् । बैंकिङ क्षेत्रमा राम्रो पदमा कार्यरत कर्मचारीहरुले समेत देश छोड्दा बैंकिङ क्षेत्रले आगामी दिनमा नेतृत्व गर्ने जनशक्ति नै नपाउने हो कि भन्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘जुन बैंकिङको लागि ठुलो ‘थ्रेट’ हो । बैंकिङ क्षेत्रमा थाहा नहुने गरी बढिरहेको मानवीय पुँजीको समस्या सम्बोधन गर्नुपर्ने चुनौती भने छ । यद्यपि नेतृत्व विकासको चुनौतीसँगै नयाँ अवसर सिर्जना पनि गर्नेछ ।’

‘१२ घण्टा काम गर्ने दबाबका कारण बैंकको जागिर छाड्ने प्रवृत्ति बढ्यो’

राष्ट्र बैंककाा पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पछिल्लो समय बैंकिङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्नेहरूको संख्या बढेको बताउँछन् । बैंकहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैंकिङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको उनको भनाइ छ । थापाले बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘बैङ्किङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’

उनले बैंकिङ क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभएको भन्दै यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको उल्लेख गरे । उनले बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैङ्कहरूले प्राथमिकता दिनु पर्ने बताए । उनले बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताए । उनले बैङ्कमा काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् ।

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।