२०८१ फाल्गुन २७ गते

झन्–झन् घट्दै कर्जाको ब्याजदर

बैंकिङ खबर/कर्जाको ब्याजदर झनझन् घट्दै गइरहेको छ । एक वर्षको अवधिमा निक्षेप र कर्जाको ब्याजदर उल्लेख्य घटेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

एक वर्षमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जाको भारित औषत ब्याजदर २.५३ प्रतिशतले घटेको छ । ०८० माघमा वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर ११.०८ प्रतिशत रहेकोमा ०८१ माघमा घटेर ८.५५ प्रतिशतमा सिमित भएको छ ।

विकास बैंकको एक वर्षमा कर्जाको औषत ब्याजदर २.९५ प्रतिशतले घटेको देखिन्छ । ०८० माघमा कर्जाको औषत ब्याजदर १२.८५ प्रतिशत रहेकोमा ०८१ माघमा घटेर ९.९० प्रतिशतमा झरेको छ ।

यस्तै, वित्त कम्पनीमा कर्जाको औषत ब्याजदर एक वर्षमा ३.०५ प्रतिशतले घटेको देखिन्छ । ०८० माघमा १३.९३ प्रतिशत रहेको औषत ब्याजदर ०८१ माघमा १०.८८ प्रतिशतमा झरेको छ ।

निक्षेको ब्याजदर निरन्तर घट्दै

निक्षेपको ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर पनि घटाउँदै लगेका हुन् । पछिल्लो समय बैंकमा निक्षेप थुप्रिने तर कर्जा लगानी बढ्न नसक्दा फालाफाल तरलता थुप्रिदै गइरहेको छ ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा निक्षेपको औषत भारित ब्याजदर २.३९ प्रतिशतले घटेको छ । ०८० माघमा निक्षेपको औषत व्याजदर ७.०१ प्रतिशत रहेकोमा ०८१ माघमा ४.६२ प्रतिशतमा झरेको छ ।

विकास बैंकहरुको निक्षेपको औषत ब्याजदर एक वर्षमा २.८५ प्रतिशतले घटेको छ । ०८० माघमा विकास बैंकको औषत ब्याजदर ८.२६ प्रतिशत रहेकोमा ०८१ माघमा घटेर ५.४१ प्रतिशतमा सिमित भएको छ ।

यस्तै, वित्त कम्पनीहरुको एक वर्षमो औषत भारित ब्याजदर (निक्षेप) २(९८ प्रतिशतले घटेको देखिन्छ । ०८० माघमा ९.४५ प्रतिशत रहेको वित्त कम्पनीको निक्षेपको औषत ब्याजदर ०८१ माघमा घटेर ६.४५ प्रतिशतमा खुम्चिन पुगेको छ ।

बैंकमा निक्षेपको ब्याजदर घट्दै गएपछि आधार दर (बेसरेट) घट्दै गएको छ । बेसरेट घटेपछि कर्जाको ब्याजदर पनि घट्दै गइरहेको हो । निक्षेपको ब्याजदर घट्ने वित्तीकै बैंक तथा वित्तीय संस्थाहरुको कष्ट अफ फन्ड घटेपछि आधार दर पनि घट्दै गइरहेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने गर्छन् ।

०८१ माघसम्म आइपुग्दा औषत आधार दर वाणिज्य बैंकहरुको ६.४६ प्रतिशत, विकास बैंकहरुको ८.५२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३९ प्रतिशतमा झरेको देखिन्छ । एक वर्षको अवधिमै बैंक तथा वित्तीय संस्थाहरु निक्षेप तथा कर्जाको ब्याजदर उल्लेख्य घटेको छ ।