Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब बढीले बढ्यो

२०८१ माघ १४ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ६ महिनामा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तमा २० खर्ब ६७ अर्ब २ करोड रहेको नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनामा बढेर २३ खर्ब ४ अर्ब ९३ करोड पुगेको हो ।

राष्ट्र बैंकले यस अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखेको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी बढाएको छ । गत असारमा ११ खर्ब २७ अर्ब ७४ करोड रहेको विदेशी ऋणपत्रको लगानी पुस मसान्तमा आउँदा १२ खर्ब ५३ अर्ब ७४ करोड पुगेको छ ।

विदेशी बैंकको आवाधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोडबाट बढाएर ६ खर्ब ९१ अर्ब ९७ करोड पुर्याएको हो । त्यस्तै सुनको प्रमाणपत्रको लगानी गत असार मसान्तमा ८३ अर्ब ३२ करोड रहेकोमा पुस मसान्तमा आउँदा बढेर ९५ अर्ब ६२ करोड पुगेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रोको सम्पत्ति २२ खर्ब २ अर्ब ५९ करोड र स्वदेशी मुद्राको सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड छ । राष्ट्र बैंकले नेपाल सरकारको ऋणपत्रमा २३ अर्ब ७६ करोड लगानी गरेको छ । पुस मसान्तमा आउँदा नेपाल राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा ८ अर्ब ३५ करोडले बढेर ६२ अर्ब ८३ करोड पुगेको छ ।

यसैबीच गत असारको तुलनामा पुस मसान्तामा चलनचल्तिको पैसा भने बढेको छ । चाडपर्वको समयमा नगदको रुपमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमा आउन समय लाग्दा चलनचल्तिमा रहेको पैसा बढेको हो । गत असार मसान्तमा ६ खर्ब ८० अर्ब रहेको चलनचल्तिको पैसा पुस मसान्तमा करिब ७ खर्ब १७ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।