Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा असुली तनावपूर्ण छ : बैंकर्स संघ

२०८१ माघ ८ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्जा असुली तनावपूर्ण बन्दा त्यसको असर वाणिज्य बैंकहरूको नाफामा परेको बताएका छन्। नेपाल बैंकर्स संघको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले कर्जा असुली तनावपूर्ण बन्दा त्यसको असर बैंकहरूको खुद नाफामा परेको बताए।

‘कर्जा प्रवाह गर्न सकेका छैनौँ। यो अवस्थामा हामीले कर्जा असुल्न पनि नसक्दा त्यसको असर वासलातमा देखिएको छ’ उनले भने। वाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरूले खुद २७ अर्ब ४३ करोड नाफा कमाएका छन्।

अध्यक्ष कोइरलाले अर्बमा नाफा देखिएपनि बढ्दो खराबकर्जा र त्यसले बढाएको कर्जा नोक्सानी व्यवस्था लगायतले बैंकको नाफा खुम्च्याएको बताए। उनले नाफा मात्र नभएर बैंकहरूको घट्दै गएको प्रतिसेयर आम्दानी तथा प्रतिफल समेतलाई ध्यानमा राख्नुपर्ने बताए।

संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरूको खराब कर्जा आत्तिनुपर्ने अवस्थामा नरहेको बताए। ‘औषतमा एनपीएल ४.४४ प्रतिशतमा छ यसबाट आत्तिहाल्नुपर्ने देखिँदैन’ उनले भने।

बैंकहरूको कुल एनपीए (निष्कृय कर्जा) ६ प्रतिशत माथि पुगेपनि खुद एनपीए २ प्रतिशत तल रहँदा आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले स्थानीय तहले आवश्यक समन्वयन नगरिदिँदा कर्जा असुलीका लागि लिलामी प्रकृयामा समेत समस्या देखिँदा बैंकहरूको गैरबैकिङ सम्पत्ति व्यवस्थापनमा चुनौति भोगिरहेको गुनासो समेत गरे।