
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक अस्थिरताकै कारण आर्थिक नीतिहरु प्रभावित भएको बताएका छन् ।
मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा पूर्वगभर्नर क्षेत्रीले अहिले साना व्यवसायीलाई प्रशय दिने खालका नीतिको आवश्यक रहेको बताए । नेपालमा दीगो रुपमा काम गरी अगाडि बढ्ने स्थिति नरहेको उनले प्रष्ट पारे ।
उनले भने, ‘अहिले हरेक ठाउँका सटरहरु भाडाका लागि खाली छ भनेर लेखेको देख्न सक्छौं । यसले पनि भन्न सकिन्छ कि व्यवसायीहरु व्यवसायबाट पलायन भइसकेको अवस्था छ ।’
विकास निर्माण गाउँ केन्द्रित भएको तर गाउँका मान्छेहरु शहर केन्द्रित हुन थालेको क्षेत्रीले बताए । रेमिट्यान्सकै कारण नेपालको चालु खाता उकालो लागेको उनको भनाइ छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक केही आशावादी देखाएपनि वास्तविक हुन नसकेको उनले बताए । उनले भने, ‘कति उत्पादन भए, कति निर्यात भए भनेर लेखाजोखा गर्न सकिएको छैन ।’
क्षेत्रीले नेपालको वाह्य क्षेत्र मजबुद भएपनि आन्तरिक क्षेत्र भने कमजोर रहेको बताए । यहाँको उद्योग धन्दालाई प्रशय दिन नसकिएको भन्दै उनले सही किसिमबाट राजश्व संकलन भयो कि भएन भनेर हेर्न नसकिएको बताए ।
पूर्वगभर्नर क्षेत्रीले नेपालको आर्थिक र परराष्ट्र नीति एकापसमा मिल्न नसकेको पनि बताए । ‘हामी चीनमा भैँसी निर्यात गर्ने भन्दैछौं । तर भैँसी खोज्न भारत जानुपर्ने स्थिति छ ।’ मुलुकलाई कसरी दीगो रुपमा अगाडि बढाउने भन्नेमा ध्यान दिन नसकिएको उनको भनाइ छ ।
पछिल्लो समय बैंकमा कर्जा फालाफाल भएपनि उद्यमीहरुले ऋण पाउन नसकेको गुनासाहरु आउने गरेको उनले बताए । यस्तै उनले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीतिले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने बताए ।
पूर्वगभर्नर क्षेत्रीले त्यसलाई सहजीकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलता राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने बताए । उनले कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशतजति पुगेको बताए । उनले वास्तविक तथ्यांक हेर्ने र केलाउने हो भने बैंकहरुको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको दाबी गरे ।
उनले भने,‘पछिल्लो उद्योगी व्यवसायीहरुले कर्जा पाएनन् भन्ने छ, बैंकको खराब कर्जा बढ्दै गएको छ। कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशत जस्तो पुगेको छ‚ वास्तविक तथ्यांक हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिनमा बैंकहरु कन्जरभेटिभ छन् ।
केन्द्रीय बैंकले पैसा बैंकहरुबाट लिएको छ‚ प्रत्येक हप्तामा ४० अर्ब खिच्यो । यो अवस्था अर्थतन्त्रलाई गतिशील बनाउने उपयुक्त किसिमको नीति होइन ।’ यस्तै उनले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताए ।




