
बैंकिङ खबर/ बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) सवा ४ गुणाले बढाएका छन् । दशैं बिदा नजिकिएसँगै बैंकहरुले प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरणहरुमा गरिने लगानी बढाएका हुन् ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आइतबार कुल १ खर्ब ६९ अर्ब एसडीएफ उपयोग गरेका छन् । अघिल्लो पटकको तुलनामा बैंकहरुले ४.२८ गुणा बढी एसडीएफ उपयोग गरेका हुन् । असोज १८ गते शुक्रबार ३९ अर्ब ५० करोड मात्र एसडीएफ लिएका थिए । अघिल्लो पटकको एसडीएफ परिपक्क भएपछि बैंकहरुले असोज २० गते आइबार १ खर्ब ६९ अर्ब एसडीएफ लिएका छन् । यो रकम असोज २२ गते मंगलबार परिपक्क हुनेछ ।
चालु आर्थिक वर्ष शुरु भएयता असोज २० गते आइतबारसम्म बैंकहरुले ६७ खर्ब ४६ अर्ब ७५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन् ।
बैंकहरुले आइतबारकोसहित ३४ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका छन् । यस्तै, यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत १७ पटक गरेर ५ खर्ब ५० अर्ब ५५ करोड बुझाएका छन् ।
निक्षेप संकलन उपकरणमा लगानी गरेको १ खर्ब २५ अर्ब ८० करोड परिपक्क हुन बाँकी छ । एसडीएफ र निक्षेप संकलनको गरेर बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा रहेको देखिन्छ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६५ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५२ खर्ब ४८ अर्ब कर्जा लगानी गरेका छन् ।
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५२ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ६७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।




