
बैंकिङ खबर/ पछिल्लो समय बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २४ गते बैंकहरुबाट एकैदिन ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ २४ मा बढेर ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी भदौ २४ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ८४ अर्ब रुपैयाँ थियो।
भदौ २४ मा बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ७९.०२ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.८७ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।
कर्जा विस्तार बढेसँगै बैंकहरुले राष्ट्र बैंकले जारी गर्ने लामो अवधिका उपकरणमा लगानी घटाउन थालेका हुन् । राष्ट्र बैंकले भदौ २६ गते बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ खिच्न २१ दिने निक्षेप संकलन उपकरण जारी गर्यो। तर, बैंकहरुले ९ अर्ब ५ करोड रुपैयाँ राख्न बोलकबोलमा सहभागिता जनाए । यसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भयो।
यसअघि राष्ट्र बैंकले भदौ २३ गते बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्न २१ दिने निक्षेप संकलन उपकरण जारी गरेको थियो । त्यसमा बैंकहरुले ५३ अर्ब ८० करोड रुपैयाँ राख्न बोलकबोलमा सहभागिता जनाए। यसमध्ये प्रक्रिया पुगेको ५१ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकले खिच्यो। यसको औसत ब्याजदर २.९४ प्रतिशत कायम भयो ।
बैंकहरुले भदौ २७ गते बिहीबार स्थायी निक्षेप सुविधा एसडीएफमा १ खर्ब ६४ अर्ब ९५ करोड राखे । यो ३ दिनका लागि राष्ट्र बैंकमा राखिएको रकम हो । भदौ २५ गते बैंकहरुले एसडीएफमा १ खर्ब ७५ अर्ब ७० करोड राखेका थिए । यो ३ दिनका लागि राष्ट्र बैंकमा राखिएको रकम हो । यसबाट बैंकहरुले ३ प्रतिशत ब्याज पाउँछन् । बैंकहरुले एसडीएफ समेत घटाउँदै लगेका छन् ।
कर्जा विस्तारमा सुधार हुने संकेत देखिएसँगै बैंकहरुले लामो अवधिको उपकरणमा लगानी घटाएर छोटो अवधिकोमा बढाएको देखिन्छ । यसले बैंकिङ क्षेत्रबाट क्रमिक रूपमा कर्जा विस्तार हुन थालेको संकेत गर्छ ।
गत आर्थिक वर्षको तुलनामा सरकारी राजस्व समेत बढेकाले आगामी समयमा नेपाली अर्थतन्त्र सुधार हुने संकेत देखिएको छ ।
अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी) ७९.०२ प्रतिशतमा झरेको छ। सीडीका आधारमा बैंक वित्तीय संस्थाहरूसँग अझै साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।
कर्जा विस्तार सहज होस् भनेर राष्ट्र बैंकले पुँजी कोषमा दबाब भएका बैंकहरुलाई सहजीकरण गरेको छ भने अग्राधिकार सेयर र कर्जा खरिद गर्दा जोखिमभार २० प्रतिशत कायम गर्न सक्ने सुविधा दिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म अर्थात असार मसान्तसम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.६५ प्रतिशत रहेको छ । बैंक वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय वाणिज्य बैंक कर्जा लगानी गर्न सक्ने सबैभन्दा सहज अवस्थामा छ । यस बैंकको कर्जा निक्षेप अनुपात ६०.२९ प्रतिशत रहेको छ। यस्तै, नेपाल बैंकको कर्जा निक्षेप अनुपात ७२.४४ प्रतिशत रहेको छ। कृषि विकास बैंकको सीडी अनुपात ७८.४६ प्रतिशत रहेको छ । सरकारी बैंकहरु सबै कर्जा विस्तार गर्ने सहज अवस्थामा रहेका छन् ।
निजी क्षेत्रतर्फका बैंकहरूमध्ये सबैभन्दा बढी कर्जा दिन सक्ने क्षमता भएका बैंकहरूमा नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र एनआइसी एसिया बैंक रहेका छन्। एसबीआईको कर्जा निक्षेप अनुपात ७३.५६ प्रतिशत, स्टान्डर्ड चार्टर्डको ७६.८४ प्रतिशत, लक्ष्मी सनराइजको ७७.७४ प्रतिशत, एनआइसी एसियाको ७९.१४ प्रतिशत र प्रभु बैंकको ७९.७९ प्रतिशत रहेको छ ।
सबैभन्दा बढी कर्जा निक्षेप अनुपात प्राइम बैंकको ८६.२० प्रतिशत रहेको छ। प्राइम बैंकपछि सबैभन्दा बढी कर्जा निक्षेप अनुपात सिटिजन्स इन्टरनेसनल बैंकको ८४.०७ प्रतिशत, एनएमबि बैंकको ८३.८९ प्रतिशत, हिमालयन बैंकको ८३.७८ प्रतिशत नबिल बैंकको ८३.६० प्रतिशत, माछापुच्छ्रे बैंकको ८३.२१ प्रतिशत र कुमारी बैंकको ८२.९३ प्रतिशत रहेको छ । यसबाहेक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी अनुपात ८०.४६ प्रतिशत, एभरेष्ट बैंकको ८०.२७ प्रतिशत, सिद्धार्थ बैंकको ८०.२० प्रतिशत र सानिमा बैंकको ८०.५३ प्रतिशत रहेको छ ।
कर्जा निक्षेप अनुपातसँगै कुमारी र एनआइसी एसिया बैंक बाहेक अन्य बैंकहरू पुँजी कोष अनुपातका आधारमा समेत सहज स्थितिमा छन् । कुमारी बैंकको प्राथमिक पुँजी कोष अनुपात ८.५६ प्रतिशत र एनआइसी एसिया बैंकको प्राथमिक पुँजी कोष अनुपात ८.४४ प्रतिशत रहेको छ । पुँजी कोषका आधारमा सबैभन्दा सहज अवस्थामा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ ।




