Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिजिटल भुक्तानीको लोकप्रियता झन्–झन् बढ्दै

२०८१ भाद्र ६ गते

बैंकिङ खबर/ नेपालमा डिजिटल भुक्तानीको लोकप्रियता झन्–झन् बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पछिल्लो १ वर्षमा मोबाइल वालेटको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा वालेट प्रयोगकर्ताको संख्या २३.८६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वालेट प्रयोगकर्ता १ करोड ८९ लाख ४१ हजार ७९३ रहेकोमा गत आवमा बढेर २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ।

तथ्यांक अनुसार समीक्षा वर्षमा वालेटबाट ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा वालेटबाट हुने कारोबार ५४ प्रतिशतले बढेको देखिन्छ ।

गत आवमा क्यूआरमा आधारित भुक्तानीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। क्यूआरको माध्यमबाट भएको कारोबारको संख्या ११३.२० प्रतिशतले बढेर २ करोड ८ लाख २५ हजार नाघेको छ भने कुल कारोबार रकम १०४.७७ प्रतिशतले बढेर ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, २०८१ असारसम्म आरटीजीएस प्रणाली कारोबार रकम ११६. २८ प्रतिशतले बढेर ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ पुगेको छ। २०८० को असार महिनामा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस्तै, समीक्षा वर्षमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ५८.०३ प्रतिशतले बढेर २ करोड ४६ लाख नाघेको छ । अघिल्लो वर्ष मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो। मोबाइल बैंकिङ्गबाट कारोबार भएको रकम भने ६०.१६ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा संख्या १९ लाख १९ हजार ३२२ पुगेको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १८ लाख ५६ हजार १९५ रहेको थियो। सो समयमा इन्टरनेट बैंकिङ्गबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

एटीएमबाट भएको कारोबारमा पनि वृद्धि देखिएको छ। असार २०८० मा ११ करोड ४२ हजारभन्दा बढी कारोबार भएकोमा असार २०८१ मा यो संख्या १.५८ प्रतिशतले बढेर ११ करोड २ लाखभन्दा बढी पुगेको छ। कुल रकममा पनि ४.९४ प्रतिशतले वृद्धि भई ९१ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ।