Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सर्वसाधारणले बचतमा राखे ४० खर्ब

२०८१ भाद्र ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा १० वटा क्षेत्रको ६४ खर्ब ९४ अर्ब रुपैयाँ जम्मा भएको छ। जसमा व्यक्तिगततर्फ (सर्वसाधारणको बचत) को हिस्सा नै कुल निक्षेपको ६२.२ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा कुल ४० खर्ब ३९ अर्ब रुपैयाँ निक्षेपमा राखेका हुन्।

अघिल्लो वर्षको असार मसान्तसम्म सर्वसाधारणले ३५ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेपमा राखेकोमा यो वर्ष २० प्रतिशतले बढाएका हुन्। सर्वसाधारणपछि सबैभन्दा धेरै निक्षे गैरबैंकिङ संस्थाहरूको छ। गैरबैंकिङअन्तर्गतका चारवटा संस्थाहरूले असार मसान्तसम्म कुल ११ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको निक्षेपमा राखेका हुन्।

जसमा बिमा कम्पनीले ६ खर्ब निक्षेप राखेका छन् भने कर्मचारी सञ्चय कोषले १ खर्ब १८ अर्ब र नागरिक लगानी कोषले २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप राखेको छ।

गैरबैंकिङको अन्य शीर्षकतर्फ भने २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा भएको हो। यस्तै निक्षेपको तेस्रो ठूलो हिस्सा गैरसरकारी संस्थाहरूको छ। गैरसरकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थामा कुल ४ खर्ब १८ अर्ब रुपैयाँ निक्षेपमा राख्दा सरकारी तथा कर्पोरेसन कम्पनीहरूले ३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेपमा राखेका हुन्।

यो वर्ष गैरनाफामूलक संस्थाहरूको निक्षेप भने २० प्रतिशतले बढेको छ। यो अवधिमा गैरनाफामूलक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूमा कुल १ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेपमा राखेका हुन्।

यस्तै ननरेसिडेन्सियल डिपोजिटतर्फ ७३ अर्ब रुपैयाँ जम्मा हुँदा रेसिडेन्ट एफसीवाई डिपोजिट शीर्षकमा ९४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। योबाहेक स्थानीय तहहरूले बैंक तथा वित्तीय संस्थामा ६६ अर्ब रुपैयाँ निक्षेपमा राखेका छन्।

यस पटक अन्तरबैंक निक्षेपको हिस्सा भने ४२ अर्ब रुपैयाँ मात्रै छ। अन्तरबैंक ब्याजदर घट्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष यस्तो निक्षेप २९.२ प्रतिशतले घटेको हो।