Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूको एसेट क्वालिटी रिभ्यु : अडिटरले प्रस्ताव पेस गर्ने समय लम्बियो(सूचनासहित)

२०८१ असार २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षण गर्न योग्य अडिटरबाट प्रस्ताव पेस गर्न समय अवधि थप गरेको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै देशका १० ठूला बैंकको लेखा परीक्षण गर्न सर्टलिस्टमा परेका विदेशी अडिटरले प्रस्ताव पेस नगरेपछि समय थपेको हो ।

प्रस्ताव पेस गर्न पहिलेको समयभन्दा थप ८ दिन समय दिइएको छ । नयाँ समयतालिका अनुसार अब असार ३१ गते प्राविधिक प्रस्ताव खोल्ने काम हुनेछ ।

आईएमएफ र नेपाल सरकारबीच सम्झौता भएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखा परीक्षण रहेको थियो । यसै अन्तर्गत रहेर १० वाणिज्य बैंकको लेखा परीक्षण गरिने भएको हो ।

राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गर्दै प्रस्ताव पेस गर्न भनेको थियो ।

नेदरल्यान्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्स्, भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एन्ड कम्पनी सर्टलिस्टमा परेका थिए ।

राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका थिए । जसमध्ये उनीहरूले पेस गरेको प्रस्तावको आधारमा एक फर्मलाई केन्द्रीय बैंकले १० वटा ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने जिम्मा दिनेछ ।

सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।

३८ महिनाका लागि ईसीएफअन्तर्गत नेपाललाई ३९ करोड ८८ लाख डलर सहयोग प्राप्त हुन्छ । यही सुविधा लिनका लागि अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ गर्ने सर्त उल्लेख थियो ।