Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लचिलो मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

२०८१ जेष्ठ २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् । काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताए ।

उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताए । राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि छलफल सुरु गरेको र अधिकांशको चासो कर्जा प्रवाह सहज बनाउनुपर्ने र ब्याजदर रहेको बताए ।

नेपालको लगानी र पूँजीगत खर्च उत्पादनशील क्षेत्रमा नहुँदा समस्या भएको गभर्नर अधिकारीले बताए । ‘उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक छ,’ उनले भने, ‘आगामी आवका लागि सरकारले ल्याएको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको छ । बजेटमा इमानदारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजान भन्ने विषयमा ध्यान दिएको छ ।’

बजेटमा निजी क्षेत्रले उठाउँदै आएको उधारो असुली सम्बन्धी कानुन बनाउने विषय सम्बोधन गरेको भन्दै त्यसले सकारात्मक प्रभाव पर्ने गभर्नर अधिकारीले बताए ।