Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेयर धितो कर्जा बढ्न थाल्यो, ७ महिनामा ८५ अर्ब रुपैयाँ प्रवाह

२०८० फाल्गुन २८ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सेयर धितो कर्जा क्रमशः बढ्न थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

गत असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यसअधारमा हेर्दा ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा ९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

पछिल्लो समय अन्य क्षेत्रमा कर्जा विस्तार लगभग ठप्पजस्तै भए पनि सेयर कर्जाको माग भने बढ्न थालेको बैंकरहरु स्वयं बताउँछन् । पछिल्लो एक महिनामा मात्रै ८८ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुसमा ८४ अर्ब २९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो ।सेयर धितो कर्जा साउन महिनादेखि बढ्न थालेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केही लचिलो नीति लिएको थियो । फलस्वरुपः साउनदेखि सेयर कर्जा पनि केही बढेको हो ।

यता, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जामा अझै सहज नीति लिएको छ । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको थियो । यसको अलावा केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिएको छ ।