Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा करिब साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

२०८० माघ २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ४५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। जसमा पेन्सन कोषको २ अर्ब २० करोड रुपैयाँ र सुरक्षण कोषको २५ करोड रुपैयाँ रहेको छ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ। केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। आउँदो माघ ५ गतेदेखि माघ २३ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले माघ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।