Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको नाफा करिब १० प्रतिशत घट्यो

२०८० माघ ७ गते

बैंकिङ खबर/हाल सञ्चालनमा रहेका २० बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका यी २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएका छन्। समीक्षा अवधिमा यो ९.९४ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा ४ बैंकहरुले मात्र नाफा बढाउन सफल भएका छन्। जसमध्ये हिमालयन बैंकको नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंकको खुद नाफा समीक्षा अवधिमा ३२.१३ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले यस आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।

समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ करोड रुपैयाँ मात्र नाफा कमाएको छ।

पुस मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ। सो बैंकले यस अवधिसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो। सो अवधिसम्ममा सबैभ्न्दा कम नाफा भने नेपाल बैंक लिमिटेडको रहेको छ।