Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंकको ऋण तिर्दिन भन्न कसैले पनि पाउँदैनः अर्थमन्त्री महत

२०८० पुष १० गते

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्। भरतपुर विमानस्थलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन्।

उनले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ। यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ।’

लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए। ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्। लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ,’ उनले भने। महतले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको समेत बताए।

सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भने, ‘घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ।’

अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न पनि उनले आह्वान गरेका छन्। राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको पनि उनले बताए।