Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले अफर गर्न थाले एकल विन्दुको ब्याजदरमा नै कर्जा

२०८० पुष ९ गते

बैंकिङ खबर/बैंकहरुले एकल विन्दुको ब्याजदरमा नै कर्जा अफर गर्न थालेका छन्। बैंकहरुमा लगानीयोग्य रकम बढ्दै जाँदा बैंकहरुले सस्तो ब्याजदरमा नै कर्जा अफर गर्न थालेका हुन्।

गत आइतबार नबिल बैंकले एक विन्दुको ब्याजदरमा नै घर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले आइतबार ढुक्क घर कर्जा सार्वजनिक गरेको हो । जसमा बैंकले ९.९९ प्रतिशत ब्याजदरमा नै ७ वर्षसम्मको स्थिर ब्याजदरको कर्जा दिने जनाएको छ।

नबिल बैंकले यसअघि गत साउनमा नबिल ढुक्क घर कर्जा सार्वजनिक गर्दै १०.९९ प्रतिशत ब्याजदर तोकेको थियो। अहिले बैंकले घर कर्जाको ब्याजदर एकल विन्दुमा झारेको हो।

ग्लोबल आइएमई बैंकले पनि गत शुक्रबार ९.९९ प्रतिशत ब्याजदरमा नै विशेष घर कर्जा योजना ल्याएको छ। बैंकले ९.९९ प्रतिशत ब्याजदरदेखि नै घर कर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको हो। बैंकले कर्जाको अवधि अनुसार ब्याजदर तोकेको छ। बैंकले ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ।

अहिले बैंकहरुमा ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। सिडि रेशियो ८० प्रतिशतमा झरेको छ। बैंकहरुको आधार दर ९ प्रतिशतमा झरेको छ। यसले गर्दा बैंकहरुले थोरै प्रिमियम राखेर कर्जा लगानी गर्दा एक अंकको ब्याजदरमा नै कर्जा दिन सक्छन्।

आगामी महिनादेखि कर्जाको ब्याजदर अझै घट्ने भएका कारणले पनि बैंकहरुले अहिले नै एकल विन्दुको ब्याजदर अफर गर्न थालेका हुन्।