
बैंकिङ खबर/पुस १ अर्थात् आजदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाएका छन्। प्रभु र सानिमा बैंकले निक्षेपको ब्याज दर स्थिर राखेका छन् भने बाँकीले घटाएका छन्। नेपाल राष्ट्र बैंकले मंसिर २२ गते चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियो।
साथै नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। यो पहलले बैंकहरुले पुसमा कम्तिमा एक प्रतिशत बिन्दुले निक्षेपको ब्याज दर घटाएका हुन्।
नियामकीय प्रावधानले नछेक्ने हो भने ब्याजदर अझ घट्ने थियो। राष्ट्र बैंकले एक पटकमा बढीमा १० प्रतिशतले ब्याज घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ। त्यही कारण उनीहरुले थप घटाउन नसकेका हुन्। तर, तरलता र नीतिगत दरका कारण ब्याज अझै घट्ने थियो।
मंसिरमै अधिकांश बैंकको निक्षेपको ब्याजदर एकल अंकमा आइसकेको थियो। पुसमा प्राइम कमर्सियल बैंकबाहेक सबैको एकल अंकमा आएको छ। प्राइमले १०.२५ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याज १० प्रतिशतमा झारेको छ। ब्याज घटाउने प्रतिस्पर्धामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई एभरेष्ट बैंकले उछिनेको छ। मंसिरमा एभरेष्टको ९ प्रतिशत ब्याज हुँदा स्ट्यान्डर्ड चार्टर्डको ८.९७ प्रतिशत थियो।
पुसमा एभरेष्टले ब्याज ८ प्रतिशतमा झारेको छ। चार्टर्डले ८.५६ प्रतिशतमा ब्याज कायम गरेको छ। सरकारी स्वामित्वका तीन वटै वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक १० प्रतिशतको ब्याजबाट ९ प्रतिशतमा ओर्लिएको छ। निक्षेपको ब्याज घटेकाले अब ऋणको ब्याज पनि घट्ने छ। बैंकहरुले मुद्दतीसँगै बचत र कल एकाउन्टको पनि ब्याज घटाएका छन्।
अहिले विकास बैंकहरुको १३.७ र फाइनान्स कम्पनीको १४.४८ प्रतिशत छ। पुस १ गतेबाट लागू हुनेगरी विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याज घटाएका छन्।





