
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट ०.८७ प्रतिशत ब्याजदरमै निक्षेप संकलन गरेको छ । राष्ट्र बैंकले बोलकबोल विधिबाट निक्षेप संकलनको प्रस्ताव माग गर्दा बैंकहरु १ प्रतिशतभन्दा कम ब्याज लिएर राष्ट्र बैंकमा पैसा राख्न तयार भएका हुन् । राष्ट्र बैंकले ७ दिनका लागि १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो।
उक्त प्रस्तावमा सहभागि भएका ९ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकमा २५ अर्ब रुपैयाँ निक्षेप राख्न चाहेको प्रस्ताव पेश गरेका थिए । राष्ट्र बैंकले ०.८७ देखि १.०४ प्रतिशत ब्याजदर कबोल गर्ने बैंकहरुले १० अर्ब रुपैयाँ निक्षेप राख्ने निर्णय गरेको छ । आइतबार राष्ट्र बैंकले औषतमा ०.९८८६ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेको हो ।
राष्ट्र बैंकले पछिल्लो ११ दिनमा ४ पटक बोलकबोल विधिबाट निक्षेप संकलन गरिसकेको छ । राष्ट्र बैंकले पहिलोपटक मंसिर ६ गते २.१७ देखी १.६ प्रतिशत ब्याजदरमा ७ दिनका लागि १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
मंसिर ६ गते राष्ट्र बैंकले संकलन गरेको निक्षेप १० गते बजारमा फिर्ता भइसकेको छ । राष्ट्र बैंकले मंसिर १२ गते पनि ७ दिनका लागि १.२४ प्रतिशत देखी १.१ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त रकम मंसिर १९ गते बजारमा फिर्ता हुने छ ।
राष्ट्र बैंकले मंसिर १४ गते ०.९९ प्रतिशतदेखि १.१९ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । बजारबाट बोलकबोल विधीबाट उठाएको २५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा हुँदा समेत अन्तर बैंक ब्याजदर १.४८ प्रतिशत भन्दा पनि मुनि झरेपछि राष्ट्र बैंकले आइतबार समेत १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो ।




