Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा बैंकिङ कारोबार गर्नेमध्ये ५६ प्रतिशतले मात्रै पाउँछन् कर्जा

२०८० मंसिर १२ गते

बैंकिङ खबर/ नेपालमा बैंकिङ कारोबार गर्ने ९८ प्रतिशत साना उद्यमी तथा व्यवसायीमध्ये ५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउने गरेको देखिएको छ। विश्व बैंकले गरेको एक सर्वेक्षण अनुसार नेपालमा रहेका ठूला उद्यमी व्यवसायीको तुलनामा कर्जामा सानाको पहुँच न्यून रहेको देखिएको छ।

विश्व बैंकले सार्वजनिक गरेको ’इन्टरप्राइजेज सर्वेक्षण’ अनुसार ९८ प्रतिशत साना उद्यमीहरूको बैंकमा निक्षेप खाता वा चल्ती खाता (चेकिङ एकाउन्ट) हुने गरेको छ। तर, कर्जा खाता हुनेको संख्या भने मात्रै ५६ प्रतिशत छ।

शतप्रतिशत ठूला उद्यमी वा व्यवसायीको बैंकमा निक्षेप वा चल्ती खाता हुने गरेको छ। यसमध्ये ९८ प्रतिशतले बैंकबाट ऋण पाएका छन्। शतप्रतिशत मध्यम उद्यमी तथा व्यवसायीको बैंकमा निक्षेप वा चल्ती खाता हुने गरेको भए पनि ६५ प्रतिशतसँग मात्रै ऋण खाता रहेको देखिएको छ।

’प्रभावकारी वित्तीय बजारले कर्जा दिन लायक (क्रेडिट वर्दी) लगानीकर्ता र ऋणीहरूको आन्तरिक स्रोत वा परिवार, साथीभाई जस्ता अनौपचारिक स्रोतहरूमा रहेको पुँजी निर्भरतालाई घटाउँछ,’ सर्वेक्षणमा भनिएको छ।

कर्जामा साना उद्यम तथा व्यवसायको पहुँच कम देखिए पनि नेपालमा अन्य मुलुकको तुलनामा लगानीको लागि बैंकिङ स्रोतको उपलब्धता राम्रै रहेको देखिएको छ।
सर्वेक्षणमा दक्षिण एशियाका १३ प्रतिशत यस्ता उद्यम तथा व्यवसायले बैंकबाट कर्जा लिइरहँदा नेपालका भने २१ प्रतिशतले कर्जा लिएका छन्। न्यून आय भएका मुलुकहरूका पनि १३ प्रतिशतले आवश्यक पुँजीको लागि बैंकबाट कर्जा पाइरहेको उल्लेख छ ।

नेपालका ७१ प्रतिशत उद्यम तथा व्यवसायले भने आफ्नै पुँजीबाट लगानी गरेका वा नाफाबाट आउने स्रोतलगायतबाट लगानी बढाएका छन्। अन्यले भने विविध स्रोतबाट पुँजी पाइरहेका छन्।

सर्वेक्षणमा ५ देखि ९ जनालाई रोजगारी प्रदान गरेका उद्योग व्यवसायलाई साना, २० देखि ९९ जनालाई रोजगारी दिएकालाई मध्यम र एक सय जनाभन्दा माथिलाई रोजगारी दिएकालाई ठूला भनेर वर्गीकरण गरिएको छ।

सर्वेक्षणमा ३०१ (५१ प्रतिशत) वटा साना उद्यम तथा व्यवसायको सहभागिता थियो। एक सय ८९ मध्यम र ९२ ठूला उद्यम वा व्यवसायको सहभागिता थियो।

Ad