
काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा यो शीर्षकमा नेपालबाट बाहिरिएको रकम करिब ८३ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अध्ययन शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् ।
गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यो पनि वार्षिक रूपमा हालसम्मकै बढी हो । नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता झाँगिँदै गएको, आर्थिक विकासका लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीको नयाँ अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् ।
गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४८ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाा बाहिरिएको तथ्यांक छ ।




