Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मर्जर नीतिका कारण अर्थतन्त्रलाई संकटबाट बचाउन सकियोः गभर्नर

२०८० कार्तिक २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन्। उनले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताए। बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन्।

सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक गएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र सक्षम रहेको गभर्नर अधिकारीले बताए।

कोभिड-१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्र लयमा आउन सफल भएको उनले उल्लेख गरे। वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहयकार्यमा कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्रलाई लयमा फर्काउन सफल भएको गभर्नर अधिकारीले बताए। राष्ट्र बैंकको अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्रलाई संकटबाट बचाउन सकिएको अधिकारी बताउँछन्। बैंकिङ प्रणालीले सबै संकटलाई समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको अधिकारीको तर्क छ।

गभर्नर अधिकारीले नेपाली बैंकहरूले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताए। यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौती देखिएको अधिकारी बताउँछन्। पछिल्लो समय मुद्रास्फिति बढिरहेको र विभिन्न मुलुकले महँगीको सामना गरेको उनले बताए।