
बैंकिङ खबर/बैंकहरुको कर्जाको ब्याजदर घट्न थालेको छ । बैंकको बेसरेट (आधारदर) घट्दा कर्जाको ब्याजदर पनि घटेको छ । बैंकहरुको औषतमा बेसरेट एकल अंकमा झरेको छ ।
बैंकहरुले ऋणीलाई कर्जा प्रवाह गर्दा आधारदरमा कर्जाको प्रकृति हेरेर प्रिमियम थपेर ऋण दिने गरेका छन् । बैंकहरुले आधारदरमा अधिकांश ५ प्रतिशतसम्म प्रिमियम थप्ने गरेका छन् । गत आवको पहिलो त्रैमासमा बैंकहरुको औषतमा आधारदर १०.०९ प्रतिशत रहेको थियो । अहिले औषतमा ९.९९ प्रतिशत रहेको छ । बैंकको आधारदर औषतमा एकल अंकमा झर्दा १३ वटा बैंकको घटेको छ ।
२० वटा बैंकमा ११ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी ९ वटा बैंकको आधारदर १० प्रतिशत भन्दा कम रहेको छ । अर्थात एकल अंकमा झरेको छ ।
नेपाल बैंकर्स संघका अनुसार स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ, नबिल, एभरेष्ट, सानिमा, एनएमबि र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा आइपुगेको हो ।
संघका अनुसार सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.४२ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.७० प्रतिशत र नेपाल बैंकको ९.१९ प्रतिशत छ । त्यस्तै, सिद्धार्थ बैंकको आधार दर ९.५३ प्रतिशत, नबिल बैंकको ९.५८ प्रतिशत, एभरेष्ट बैंकको ९.७० प्रतिशत, सानिमा बैंकको ९.७५ प्रतिशत र नेपाल इनभेष्टमेन्टको ९.९९ प्रतिशत कायम भएको छ । सबैभन्दा बढी आधार दर घट्नेमा सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् ।
गत आर्थिक वर्षको असोजसम्मको तुलनामा चालू आवको सोही अवधिमा स्ट्यान्डर्ड चार्टर्डको आधार दर ०.८४ र सिद्धार्थ बैंकको आधार दर ०.९० प्रतिशत बिन्दुले घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दरमा समेत ०.८१ प्रतिशतले घटेको छ ।
आधार दर उच्च रहेका वाणिज्य बैंकहरू
११ वाणिज्य बैंकहरूको आधार दर भने अझै १० प्रतिशतभन्दा माथि छ । सबैभन्दा बढी आधार दर हुनेमा लक्ष्मी, हिमालयन र कुमारी बैंक छन् । कुमारी बैंकको आधार दर १०.९१ प्रतिशत छ भने हिमालयन बैंकको १०.८६ प्रतिशत छ ।
त्यस्तै, लक्ष्मी सन्राइज बैंकको आधार दर १०.८० प्रतिशत कायम रहेको संघको तथ्यांक छ । माछापुच्छ्र्रे बैंकको आधार दर १०.०१ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.०७ प्रतिशत, प्रभुको १०.१४ प्रतिशत, नेपाल एसबिआईको १०.२५ प्रतिशत र कृषि विकास बैंकको आधार दर १०.३८ प्रतिशत छ ।
एनआइसी एसिया बैंकको आधार दर १०.५६ प्रतिशत छ भने सिटिजन्स इन्टरनेसनल बैंकको १०.६० प्रतिशत कायम भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको आधार दर १०.४६ प्रतिशत छ ।




