
बैंकिङ खबर/ वाणिज्य बैंकहरुले कात्तिक १ देखि लागू हुने गरी ब्याजदर संशोधन गरेका छन् । अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर स्थिर छ ।
सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । बैंकले असोजमा भन्दा कात्तिकमा १.८३ प्रतिशत विन्दुले ब्याज घटाएको हो । त्यस्तै प्राइम कमर्सियल बैंकले १.११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन् ।
साउनमा कर्जाको माग ठप्प भए पनि भदौ लागेपछि केही बढेको छ । भदौ र असोजमा करिब १ खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । तर, यो अवधिमा वित्तीय प्रणालीमा २ खर्ब ७३ अर्ब थपिएको छ । त्यसमध्ये करिब ६० अर्ब रकम स्थानीय तहको हो । अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशतभन्दा तल छ ।
| बैंक | २०८० असोज | २०८० कात्तिक |
| हिमालयन बैंक | ११.०५४ | ११.००३ |
| एनआईसी एशिया बैंक | १०.८९६ | ११.००३ |
| एनएमबि बैक | ९.९९ | ११.००३ |
| नेपाल एसविआई बैंक | १० | १०.७ |
| प्राइम कमर्सियल बैंक | ११.३५८ | १०.२५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ११.०३ | १०.०१ |
| कुमारी बैंक | १०.११ | १०.०१ |
| नबिल बैंक | ११.०५४ | १० |
| ग्लोबल आईएमई बैंक | १०.५ | १० |
| लक्ष्मी सन्राइज बैक | १० | १० |
| माछापुच्छ्रे बैंक | ९.९९ | ९.९९ |
| सिद्धार्थ बैंक | ९.९९ | ९.९९ |
| सिटिजन्स बैंक | १०.०५ | ९.९५ |
| कृषि विकास बैंक | १०.०११९ | ९.७६१९ |
| राष्ट्रिय वाणिज्य बैंक | ९.५ | ९.५ |
| एभरेष्ट बैंक | ११.०५४ | ९.२२४ |
| नेपाल बैंक | ९.२९३ | ९.२२४ |
| प्रभु बैंक | १० | ९.२२४ |
| सानिमा | ९.९५ | ९.२२४ |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ९.२९ | ९.२२ |
विकास बैंकले ब्याजदर घटाए
कात्तिक महिनाको लागि ९ वटा विकास बैंकले नै ब्याजदर घटाएका छन । गरिमा विकास बैंकले आफ्नो ब्याजदर ०.७५ प्रतिशत घटाएर कात्तिकको लागि १०.२५ प्रतिशत ब्याजदर दिने भएको छ । असोजमा बैंकको ब्याजदर ११ प्रतिशत रहेको थियो ।
यसैगरी, ज्योति विकास बैंकले पनि कात्तिकको लागि ०.७५ प्रतिशत ब्याजदर घटाएर ११ प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । कामना सेवा विकास बैंक, लुम्बिनि विकास बैंक, महालक्ष्मी विकास बैंक, मुत्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक कर्णाली विकास बैंकले कात्तिक महिनाको लागि ०.७५ प्रतिशतले आफ्नो ब्याजदर घटाएका हुँन ।
यता करर्पोरेट विकास बैंकले भने कात्तिक महिनाको लागि ०.२० प्रतिशतले मात्र ब्याजदर घटाएको छ । कात्तिक महिनाको लागि सबैभन्दा धेरै निक्षेपको ब्याजदर भएको विकास बैंक लुम्बिनि विकास बैंक र कर्पोरेट विकास बैंक रहेका छन् । यी दुई बैंकको निक्षेपको ब्याजदर कात्तिक महिनाको लागि १२ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ च्यानलमा ५८ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसैगरी, बैंकिङ च्यानलबाट हालसम्म ४९ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।
बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८१.८१ मा रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि पुर्याउन नपाउने व्यवस्था गरेको छ । यसर्थ अहिले बैंकिङ प्रणालीमा प्रयाप्त रुपमा लगानी योग्य रकम रहेको छ ।




