Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असोजमा बैंकहरुको निक्षेप सवा खर्बले बढ्यो, कर्जा लगानी ३५ अर्ब मात्रै

२०८० आश्विन २५ गते

बैंकिङ खबर/असोज महिनामा बैंकहरुको निक्षेप सावा खर्बले बढेको छ । यस्तै कर्जा लगानी भने ३५ अर्ब रुपैयाँले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन करिब ८० अर्ब रुपैयाँले धेरै छ।

चार्डपर्वमा पनि कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाउदा साधारण बचतको पैसा पनि मुद्दती निक्षेपमा सर्दै गएको छ। यसले गर्दा बैंकहरुले निक्षेपमा बढी ब्याज तिर्नुपरेको अवस्था छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत भदौ मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ५७ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। सो निक्षेप असोज २० गतेसम्ममा ५८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। भदौ अन्तिमसम्ममा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ५० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा हाल यस्तो निक्षेप ५१ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।

सरकारले स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न दिएको कारण पनि बैंकहरुमा निक्षेप उच्च दरमा बढेको हो। बैंकहरुको कर्जा लगानी भने त्यति धेरै बढ्न सकेको छैन। असोज महिनाको पहिलो ३ सातामा समग्र बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३५ अर्बले बढेको छ।

भदौ अन्तिम सम्ममा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। असोज २० गतेसम्ममा यस्तो कर्जा लगानी ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। भदौसम्ममा वाणिज्य बैंकहरुले मात्रै ४३ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।

असोज २० गतेसम्ममा वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुमा निक्षेप बढिरहेको भए पनि कर्जाको माग त्यति धेरै छैन। हालसम्म कर्जा लगानी न्यून नै रहेको देखिन्छ।

लगानीयोग्य रकम बढ्दै जाँदा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सिडि रेशियो) ८१ प्रतिशतमा झरिसकेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार भदौ २१ गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८१.७४ प्रतिशत रहेको छ। यस आधारमा अहिलेको निक्षेपलाई आधार मानेर हेर्ने हो भने बैंकहरुसँग ४ खर्ब ८२ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। तर बैंकहरुमा अहिले पनि कर्जाको माग भने त्यति छैन।