Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकरहरुलाई राष्ट्र बैंकका नीति निर्देशनको अक्षरांश पालना गर्न निर्देशन

२०८० आश्विन १८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरुलाई राष्ट्र बैंकका नीति निर्देशनको अक्षरांश पालना गर्न निर्देशन दिएका छन् । बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले भने,‘परिस्थिति कठिन छ भन्ने कुरा तपाईंहरुले बुझ्नुभएकै छ, कम्प्लायन्स कति पनि कम्प्रोमाइज नगरी कर्जा असूली गर्नुस्, हामीले वित्तीय स्थायित्वका लागि काम गर्नुपर्छ ।’

यस्तै उनले राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको बताए । यस्तै, मूल्य स्थिरता, बित्तीय स्थायीत्व र प्रूडेन्ट बैंकिङ सिस्टम स्थापनाको कुरामा केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताए । तर, कतिपय समस्याहरुको समाधान राष्ट्रबैंकको क्षेत्राधिकार भन्दा बाहिर रहेकोले त्यो समस्या समेत बुझिदिन उनले सीईओहरुलाई आग्रह गरे ।

उनले बैंकहरुले राम्रो काम गरिरहेका भन्दै प्रशंसाबाट आफ्नो सम्बोधनको सुरुवात गरेका थिए । ‘राम्रो गर्दागर्दै पनि बढी नै प्रेसर छ, संयमित भएर काम गर्नुपर्ने बेला छ ।’ उनले थपे‘तपाईहरुले हाम्रा डाइरेक्टिभ्सको फूल कम्प्लायन्स गरेर अगाडि बढ्नुपर्छ । बाँकी तपाईहरुका अप्ठ्याराहरुमा हामी सहजीकरण गरिदिन्छौं ।’

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले परिस्थिति कठिन रहेको भन्दै संयमित भएर कर्जा असूली गर्न सुझाएका थिए । अर्का डेपुटी गभर्नर निलम तिम्सीनाले वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंक र बैंकहरु मिलेर अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा सुपरिभिजन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले प्रस्तुति दिएका थिए । उनले गत वर्ष राष्ट्र बैंकले विभिन्न बैंकहरुमा गरेको सुपरभिजनका क्रममा देखिएका कमी कमजोरीहरु उल्लेख गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्न निर्देशन दिएका थिए । नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनको अक्षरश पालना गरेर हिँड्न निर्देशन दिएका थिए । ठमेलस्थित अलफ्टमा भएको कार्यक्रममा अधिकांश बैंकका सीइओहरु उपस्थित थिए ।