Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

खुकुलो नीति लिन राष्ट्र बैंकलाई अर्थमन्त्रीको आग्रह

२०८० भाद्र २२ गते

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका कतिपय प्रतिबन्धित व्यवस्थामा खुकुलो नीति लिन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

सांसद प्रेम सुवालले अर्थमन्त्रीलाई ‘सेयर कारोबारमा जथाभावी लगानी भएको र सरकारको गलत नीतिका कारण सर्वसाधारण लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुगेकोमा सरकार जिम्मेवार बन्नुपर्छ कि पर्दैन ?’ भनेर प्रश्न गरेका थिए ।

जवाफ दिंदै अर्थमन्त्री डा. महतले केही कारोबारमा रहेका प्रतिबन्धित व्यवस्थाहरुले पनि बजार घटिरहेको र यस्तो समस्या समाधानका लागि सरकार गम्भीर रहेको दाबी गरे ।

‘राष्ट्रबैंकको नियमनले पनि बजारलाई अप्ठ्यारो पारेको छ । उसबाट भएका प्रतिबन्धित व्यवस्थाबाट परेको प्रभावका विषयमा पनि हामीले आवश्यक सम्वाद गरिरहेका छौं । हामी चाहन्छौं कि सेयर बजारले एउटा सहज रुप लिओस्, लगानीकर्ताको लगानी डूब्न नपाओस् ।’ उनले थपे–‘सरकार सेयर बजारलाई पारदर्शी बनाउन र यसको नीतिगत, प्रक्रियागत र प्रणालीगत सुधार ल्याउनेतर्फ पनि गम्भीर छ।’

राष्ट्र बैंकले यसअघि लगाएको कतिपय निषेधित नीति बिस्तारै खुकुलो बनाउन थालेको उदाहरण दिंदै अर्थमन्त्रीले सबै कुरा लगानीकर्ताको हितअनुसार नै अगाडि बढ्ने र अर्थतन्त्र चलायमान भई सेयर बजार पनि बढ्न थालेको दाबी गरे ।

लगानीकर्ताले किनेका सेयरहरुको भाउ पनि तल झरिरहेको उदाहरण दिँदै उनले भने–‘नेप्से फेरि बढेर लगानीकर्ताहरुको लगानी सुरक्षित हुने र प्रतिफल समेत पाउने अवस्था चाँडै आउनेछ।’ डा. महतले अर्थतन्त्रहरुमा सकारात्मक संकेतहरु देखिन थालेका पनि बताए ।