Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ट्रेजरी विल्सः बैंकहरुले ६ प्रतिशतमै गरे नविकरण

२०८० भाद्र १९ गते

बैंकिङ खबर/ बैंकहरुले ट्रेजरी विल्सको ब्याजदर घटाएर नविकरण गर्न थालेका छन्। गत आर्थिक वर्षमा नै २८ दिन अवधिको ट्रेजरी विल्सको दर ११.६९ प्रतिशतसम्म पुगेको थियो भने ९१ दिन अवधिको ट्रेजरी विल्सको दर १२ प्रतिशतभन्दा माथिसम्म पुगेको थियो। अहिले ६ प्रतिशत हाराहारीको ब्याजदरमा नै ट्रेजरी विल्स नविकरण गर्न थालेका हुन्।

पछिल्लो समय अल्पकालीन ऋण उठाउन प्रयोग गरिने ट्रेजरी विल्सको दर निरन्तर घट्दो क्रममा देखिएको छ। यसले सरकारलाई ब्याज भार केहि कम हुने भएको छ। सरकारले एक वर्षसम्मको लागि एकल अंकमा नै ऋण पाउन थालेको छ। ट्रेजरी विल्सको दर घटेपछि बैंकहरुको सरकारी ऋणपत्रबाट हुने ब्याज आम्दानी भने घट्ने छ।

नेपाल राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन सोमबार २० अर्ब बढीको ट्रेजरी विल्स नविकरण गरेको थियो। केन्द्रिय बैंकले नविकरण गर्न चाहेको ट्रेजरी विल्समा न्यूनतम ६.१२ प्रतिशतदेखि ६.४३ प्रतिशतसम्म ब्याजदर कायम भएको छ।

२८ दिन अवधिको ट्रेजरी विल्सको दर औसतमा ६.१२ प्रतिशत कायम भएको छ भने ९१ दिन अवधिको ट्रेजरी ट्रेजरी विल्सको दर ६.१६ प्रतिशत, १८२ दिनको ट्रेजरी विल्सको दर ६.४० प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी विल्सको दर ६.४३ प्रतिशत कायम भएको छ।

 

 

 

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षसम्ममा सरकारले ट्रेजरी विल्स जारी गरेर ४ खर्ब ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ। यस्तै विकास ऋणपत्र मार्फत ६ खर्ब ५६ अर्ब रुपैयाँ, नागरिक बचतपत्र मार्फत १० अर्ब र बैदेशिक रोजगार बचतपत्र मार्फत १७ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ।

सरकारले जारी गरेको ट्रेजरी विल्समा ७९.२३ प्रतिशत अर्थात ३ खर्ब ५३ अर्ब रुपैयाँको ट्रेजरी विल्स वाणिज्य बैंकहरुसँग मात्रै छ भने विकास बैंकहरुसँग ८.१४ प्रतिशत अर्थात २५ अर्बको टैजरी विल्स रहेको छ।