Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकलाई स्थानीय तहको पैसा दिँदा ब्याजदर घट्न सघाउ पुग्छः बैंकर्स संघ

२०८० भाद्र १२ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघले स्थानीय तहको रकम बैंकिङ प्रणालीमा जम्मा गर्न दिइँदा ब्याजदर घट्न सघाउ पुग्ने बताएको छ । संघले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले अहिले ढुक्क भएर लगानीयोग्य रकम पर्याप्त छ भन्ने स्थिति नरहेको उल्लेख गरे ।

विश्वका अन्य मुलुकमा ब्याजदर बढ्दै जाँदा नेपालमा घट्दै गएको उल्लेख गर्दै उनले कुनै समय नै नदिइ स्थानीय तहको रकम बैंकिङ प्रणालीबाट तानिँदा केही अप्ठेरो परेको बताए । हालै संघले ब्याजदर निर्धारणमा बैंकहरुलाई स्वतन्त्र निर्णय गर्न सक्नेगरी खुला छाडेको छ । यसले स्वस्थ प्रतिस्पर्धा बढ्ने केसीले बताए । यद्यपि आउँदा महिनामा अस्थिर अवस्था देखिएमा वा अस्वस्थ प्रतिस्पर्धा हुन थालेमा पुनः सहमति गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्ने केसीले स्पष्ट पारे । राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जाका संशोधित व्यवस्थाले उद्योग व्यवसायलाई सहजता दिने उनले बताए ।

राष्ट्र बैंकले बुधबार जारी गरेका केही निर्देशनबाट पर्ने असरबारे आफूहरु अध्ययनका क्रममा रहेको उनले बताए । अहिले बैंकहरुले गर्दै आएको ‘प्रोभिजन’ बढी नै भएको केसीको भनाइ छ । एकभन्दा बढी ऋण लिएका व्यक्ति वा संस्थाको कुनै एउटा ऋण निष्क्रिय वर्गमा वर्गीकरण भएमा अरु ऋण पनि सुक्ष्म निगरानीमा पर्नेगरी राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेको छ ।

त्यस्तै कुनै समूहभित्रको एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीको उक्त ऋणीसँग व्यावसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्येक्ष रुपमा प्रभावित हुने समूहका अन्य ऋणीको ऋणलाई पनि निष्क्रिय वर्गमा वर्गीकरण गर्नुपर्ने भएको छ । यीनै व्यवस्थाको असरका विषयमा बैं‌कर्स संघले अध्ययनकै क्रममा प्रतिक्रिया दिएको हो ।