Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ट्रेजरी बिलको ब्याजदर ६ प्रतिशतमाथि

२०८० भाद्र ५ गते

बैंकिङ खबर/ सरकारले ६ प्रतिशतभन्दा बढी ब्याज दिएर ट्रेजरी बिल बिक्री गरेको छ । सोमबार राष्ट्र बैंकले ९१ दिने ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल ४.७३ देखि ६.१४ प्रतिशत ब्याजदरमा बिक्री गरेको हो ।

बोलकबोल प्रक्रियामा २६ वटा संस्थाले २६ अर्ब ६७ करोड रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने प्रस्ताव पेस गरेका थिए । तर, राष्ट्र बैंकले ६.१४ प्रतिशतसम्म ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गरेको हो । औसतमा ९१ दिनको ट्रेजरी बिलको ब्याजदर ५.८१ प्रतिशत परेको छ ।

यस्तै, ३६४ दिनको ट्रेजरी बिल ६.१४ देखि ६.४७ प्रतिशत ब्याजदरमा बिक्री भएको छ । औसतमा ६.४३ प्रतिशत ब्याजदर दिँदै राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको हो ।

बजारमा तरलता सहज भए पनि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको छैन । गत असारमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.३५ प्रतिशत थियो । असारको तुलनामा सोमबार ब्याजदर केही घटे पनि साउनको तुलनामा भने ब्याजदर बढेको छ ।

साउन २ गते ९१ दिनको ट्रेजरी बिल औसतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । राष्ट्र बैंकले साउन ९ गते ९१ दिनको ट्रेजरी बिल ५.७८ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।

साउन २३ गते ९१ दिनको ट्रेजरी बिल ६.१६ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । सोही दिन ३६४ दिनको ट्रेजरी बिल ६.३७ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो । साउन ३० गते ९१ दिनको ट्रेजरी बिल ६.४४ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।