२०८० श्रावण ९ गते

बैंकमा जागिर खान ‘लाइसेन्स’ अनिवार्य

बैंकिङ खबर/अबदेखि बैंकमा जागिर खान अग्रिम लाइसेन्स (अनुमतिपत्र) लिनुपर्ने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अग्रिम लाइसेन्स लिनुपर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन गर्ने संकेत गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा नयाँ कर्मचारी राख्नुअघि लाइसेन्स लिएको हुनुपर्ने व्यवस्था गर्न लागेको छ। ‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्ति व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने छ,’ मौद्रिक नीतिमा छ, ‘नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेुन कोर्स पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने छ।’

वित्तीय प्रणालीमा दक्ष जनशक्ति अभाव भएको र कर्मचारी व्यवस्थामा समस्या भएका कारण स्थायित्व कायम गर्न अप्ठेरो भएको र प्रणालीलाई नै जोखिम पुगेको राष्ट्र बैंकको ठहर छ।