
बैंकिङ खबर/ नेपालमा मूल्यवृद्धिको दबाब बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०२६ सेप्टेम्बर मध्यसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत थियो ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा सुधार देखिएको छ । अर्कोतर्फ, वस्तु आयात निर्यातभन्दा निकै बढी रहेकाले व्यापार घाटा फराकिलो बनेको छ ।
उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.६९ प्रतिशत रहेको छ । खाद्य समूहअन्तर्गत घिउ तथा तेलको मूल्य १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुको १२.१४ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहमा यातायात उपसमूहको मूल्यसूचक १२.७७ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५.१६ प्रतिशत मुद्रास्फीति रहेको छ । काठमाडौं उपत्यकामा यस्तो दर ५.२८ प्रतिशत छ ।
रेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ थियो ।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ । समीक्षा अवधिको दोस्रो महिना भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले विदेशी मुद्रा सञ्चिति र बाह्य भुक्तानी क्षमतामा सहयोग पुर्याएको छ ।
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब
२०२६ सेप्टेम्बर मध्यसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार विद्यमान विदेशी मुद्रा सञ्चितिले आगामी वस्तु तथा सेवा आयातको १७.८ महिनाको भुक्तानी धान्न पर्याप्त छ । वस्तु आयात मात्रै आधार मान्दा सञ्चितिले २०.९ महिनाको आयात धान्न सक्छ ।विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले बाह्य क्षेत्रको अवस्था बलियो देखाए पनि यसको दीर्घकालीन स्थायित्व निर्यात, पर्यटन तथा अन्य विदेशी मुद्रा आर्जनका स्रोतको विस्तारसँग जोडिएको हुन्छ ।
निर्यात बढ्दा पनि व्यापार घाटा ३ खर्ब २४ अर्ब
समीक्षा अवधिमा वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । तर वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेपछि व्यापार घाटा पनि विस्तार भएको छ ।राष्ट्र बैंकका अनुसार पहिलो दुई महिनामा व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । निर्यातमा वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार असन्तुलन कायम छ ।
चालु खाता र शोधनान्तर बचतमा
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो । त्यस्तै, शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो । रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा भएको सुधारसँगै चालु खाता तथा शोधनान्तर बचतमा रहनुले बाह्य क्षेत्रका सूचक अनुकूल रहेको देखाउँछ ।
बैंक निक्षेप र कर्जा विस्तार
२०२६ सेप्टेम्बर मध्यसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निक्षेप ०.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेप वृद्धि १४.४ प्रतिशत रहेको छ ।यसैगरी, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । वार्षिक आधारमा निजी क्षेत्रको कर्जा ७.३ प्रतिशतले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर ६.३८ प्रतिशत
राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.११ प्रतिशत र औसत कर्जाको ब्याजदर ६.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ब्याजदर ३.९६ प्रतिशत र कर्जाको ब्याजदर ७.६६ प्रतिशत थियो ।वाणिज्य बैंकहरूको औसत आधार दर ४.७० प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.३५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
मोबाइल बैंकिङ र क्यूआर कारोबारमा वृद्धि
डिजिटल भुक्तानीतर्फ २०२६ अगस्ट मध्यदेखि सेप्टेम्बर मध्यसम्म मोबाइल बैंकिङमार्फत ८ करोड ११ लाख ९० हजार कारोबार भएका छन् । ती कारोबारको कुल रकम ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।त्यस्तै, क्यूआर कोडमार्फत ७ करोड ५५ लाख ८० हजार कारोबारबाट १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । डेबिट कार्डमार्फत १ करोड ८ लाख कारोबार हुँदा ७४ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।समग्रमा राष्ट्र बैंकको प्रतिवेदनले रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र बाह्य भुक्तानीका सूचकमा सुधार देखाए पनि बढ्दो मुद्रास्फीति र व्यापार घाटालाई चुनौतीका रूपमा प्रस्तुत गरेको छ ।