Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो १ खर्ब १० अर्ब रुपैयाँ

२०८० असार २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन औजार प्रयोग गरी १ खर्ब १० अर्ब रुपैयाँ तानेको छ। राष्ट्र बैंकले गत असार ७ गतेदेखि असार २८ गतेसम्म पाँचपटक रिभर्स रिपो र एकपटक निक्षेप संकलन औजार प्रयोग गरी उक्त रकम प्रसोचन गरेको हो।

केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत ९० अर्ब  र निक्षेप संकलनबाट २० अर्ब तानेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्ने गर्छ।

राष्ट्र बैंकका अनुसार असार २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ भने कुल कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ नै थियो भने कर्जा लगानी ४८ खर्ब ५४ अर्ब रुपैयाँ थियो। कर्जा लगानी भने ३ अर्ब रुपैयाँले घटेको छ।

अधिक तरलता बढेसँगै बैंकहरुको अन्तरबैंक ब्याजदर र औसत सीडी रेसियो पनि घटेको छ। असार २७ गतेसम्म अन्तरबैंक ब्याजदर ०.८३ प्रतिशत र सीडी रेसियो ८१.६७ प्रतिशत रहेको छ।