
बैंकिङ खबर/ राष्ट्र बैंकले २० अर्ब तान्न खोज्दा बैंकहरुले ५३ अर्ब रुपैयाँ राख्नको लागि आवेदन दिएका छन् । राष्ट्र बैंकले मंगलबार अधिक तरलता भएको भन्दै २० अर्ब प्रशोचन गर्नको लागि रिभर्स रिपो जारी गरेको थियो। उक्त रिपोमा बैंकहरुले ५३ अर्ब ५० करोड रुपैयाँको लागि आवेदन दिएका हुन् ।
बैंकहरुले ब्याजदर पनि निकै घटाएर आवेदन पेश गरेका छन्। रिभर्स रिपोमा १.५९०० प्रतिशत सम्म ब्याज माग गरेर आवेदन दिएका छ। उम्त रिपोमा औषत ब्याजदर नै २.५४०९ प्रतिशत कायम भएको केन्द्रिय बैंकले जनाएको छ।
बैंकहरुमा अधिक तरलता भएपछि न्युन ब्याजदरमा नै राष्ट्र बैंकमा पैसा राख्न बैंकहरु इच्छुक देखिएका छन्। बैंकमा लगानीयोग्य रकम अधिक हुँदा त्यसले खर्च मात्रै बढ्ने भएकोले पनि बैंकहरु न्युन ब्याजदरमा नै रकम राख्न इच्छुक भएको देखिन्छ।
अन्तरबैंक ब्याजदर १ प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले मंगलबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ खिच्न लागेको हो। उक्त रकम केन्द्रिय बैंकले २ साताको लागि खिच्न लागेको छ।
अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन। कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर १ प्रतिशतमा झरेको छ।
राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ। सोहि अनुसार केन्द्रिय बैंकले बजारबाट तरलता तान्न खोजेको थियो।
आर्थिक वर्षको अन्तिममा सरकारको खर्च पनि बढ्ने भएकोले बैंकहरुमा निक्षेप संकलन बढ्ने छ। तर कर्जा लगानी भने नभएकोले अझै तरलता बढ्दै जाने देखिएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुको औसत सिडि रेशियो ८२ प्रतिशतमा झरेको छ।




