
बैंकिङ खबर/ चालु आवको तेस्रो महिनादेखि सकारात्मक रहेको देशको शोधनान्तर स्थिति हरेक महिना सुध्रिदै गएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष २ खर्बभन्दा बढीले नकारात्मक रहेको सोधनान्तर स्थिति अहिले २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले सकारात्मक देखिएको हो ।
महंगो व्याज दरका कारण बजारमा पर्याप्त मागको सिर्जना नहुँदा आयात घट्दै जानु एवम् रेमिट्यान्स विगत ७ महिनादेखि मासिक १ खर्ब माथि नै रहनुलगायतका कारण शोधनान्तर स्थिति बचतमा देखिएको हो । जेठ महिनामा पनि १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
कोभिड महामारीको असर एवम् लगत्तै शुरु भएको रुस युक्रेन युद्धको असर स्वरुप गत आवमा नेपालको बाह्य अवस्था एकदमै खराब अवस्थामा थियो । अघिल्लो आवदेखि लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनादेखि भने लगातार सकात्मक छ । शोधनान्तर स्थिति भनेको नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको वास्तविक तथ्यांक हो । राष्ट्र बैंकको चालु आवको पछिल्लो ११ महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर अवस्था क्रमशः सुधार हुँदै गएको छ ।
चालु आवको पहिलो महिना २२ अर्ब ६३ करोड रुपैयाँ, दोस्रो महिना २३ अर्ब ६८ करोड रुपैयाँले नकारात्मक रहेकोमा तेस्रो महिनादेखि सकारात्मक हुन थालेको हो । असोज महिनामा १२ अर्ब ४३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर अवस्था कार्तिकसम्ममा आइपुग्दा २० अर्ब ३ करोड रुपैयाँ र मंसिर महिनासम्म पुग्दा ४५ अर्ब ८४ करोड रुपैयाँले सकारात्मक हुन पुगेको हो । चालु आवको पुसमा ९७ अर्ब १० करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति माघमा आउँदा थप सुधार भएर १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ र फागुनमा अझ सुधार भएर १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।
तेस्रो त्रैमासको अन्त्यसम्म अर्थात चैत्र मसान्त सकिंदासम्म देशको शोधनान्तर अवस्थामा क्रमशः सुधार हुँदै १ खर्ब ८० अर्ब रुपैयाँले सकारात्मक बनेको हो । त्यस्तै बैशाख महिनामा २ खर्ब १४ अर्ब ६७ करोड रहेको शोधनान्तर स्थिति जेठ महिनामा आइपुग्दा २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो । शोधनान्तर स्थिति सकारात्मक हुनुको अर्थ नेपालको बाह्य अवस्था विस्तारै सुविधाजनक अवस्थामा पुग्नु हो ।
गत वर्ष शोधनान्तर अवस्था अत्यन्तै नकारात्मक बनेपछि १० वटा वस्तुको आयातमा प्रतिबन्ध लागेको थियो । वैदेशिक मुद्रा सञ्चिति विस्तारै सकारात्मक बन्दै गएपछि क्रमशः आयात खुकुलो बनाउँदै लगेकोमा पछिल्लो पटक सरकारले पुस १ गतेदेखि लागू हुने गरी मदिरा, मोबाइल र सवारी साधनको आयात खुला गरेको थियो ।
राष्ट्र बैंकले पनि धेरै विलासिताका वस्तुको आयातको लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान समेत खारेज गरिसकेको छ । राष्ट्र बैंक र सरकारले लगाएको नगद मार्जिन र आयात प्रतिबन्ध फुकुवा गरेर आयात खुला गरे पनि व्यापारीहरुले आयात गर्न सकिरहेका छैनन । व्यापारीहरुका अनुसार बजारमा सामानको माग नहुनु एवम् बैंकको ऋणको व्याज दर अहिले पनि उच्च विन्दुमा रहेकाले बजार अझै सुस्त नै रहेको छ । रेमिट्यान्स बढ्ने र आयात घट्ने हुँदा स्वाभाविक रुपमा देशको ढुकुटी सकारात्मक बन्न पुगेको हो ।
बैशाख मसान्तसम्म ११ अर्ब २१ करोड डलर पुगेको विदेशी मुद्रा सञ्चिति जेठ महिनामा ७ करोडले बढेर ११ अर्ब ३० करोड डलर पुगेको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आउँदा रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि देखिएको छ । नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि हुनु एवम् अमेरिकी डलरको मूल्य उच्च रहनु जस्ता कारणले पछिल्लो समय रेमिट्यान्स आप्रवाह समेत मासिक १ खर्बको हाराहारीमा भइरहेको छ । बजारमा मन्दीको असरस्वरुप सामानको माग नहुँदा आयात व्यापार भने १६ प्रतिशतले घटेको छ ।
यसको सकारात्मक असर समेत शोधनान्तर अवस्था सकारात्मक बन्न पुगेको हो । नेपालले रेमिट्यान्स आप्रवाहका लागि गरेको विभिन्न प्रयासमध्ये वैदेशिक रोजगारमा गएका कामदारलाई आइपीओमा कोटा छुट्याउने नीति पनि एक हुन । आइपीओ कोटाले गर्दा समेत रेमिट्यान्स बढ्न सघाउ पुगेको हो । चालु आवको जेठसम्म आइपुग्दा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । मंसिर महिनादेखि हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
११ औं महिनासम्म आइपुग्दा देशको कुल विदेशी मुद्रा सञ्चिति ११ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । देशमा विद्यमान मुद्रा सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । आयात १६ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत २२.७ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा १५.२ प्रतिशतले खुम्चेर १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
चालु आवको मंसिर महिनादेखि मासिक १ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको देखिएको छ । जेठसम्म पुग्दा ११ खर्ब १२ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएकोमा जेठ महिनामा मात्रै १ खर्ब ७ अर्ब ३७ करोड रुपैयाँ रेमिटेयान्स भित्रिएको हो ।
जेठ महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट ५८ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर १ खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् । नेपालको खुद सेवा आय ६७ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
जेठ महिनामा आयात व्यापारमा कमी आएर खुद व्यापार घाटामा कमी आउनु एवम् रेमिट्यान्स आप्रवाहमा समेत सुधार देखिदा देशको शोधनान्तर स्थिति नाफामा गएको छ । बजारमा माग नभएर आयात घट्दै जाँदा र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा शोधनान्तर स्थिति नाफामा देखिनु सकारात्मक देखिए पनि बैंकको व्याज दर विस्तारै बढ्दै जाँदा पुनः आयात वृद्धि भएर वैदेशिक मुद्रा सञ्चिति रित्तिदै जाने खतरा भने कायमै रहेको छ ।
विदेशबाट धेरै भन्दा धेरै लगानी भित्रयाउनु पर्नेमा चालु आवको ११ महिनासम्म ४ अर्ब ६५ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ । अहिले सामानको माग नै नभएर आयातमा कमी आउनु एवम् रेमिट्यान्को वृद्धिदर सकारात्मक रहँदा विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहे पनि आगामी दिनमा निर्यातमुखी वस्तु तथा सेवामा सरकारले विशेष ध्यान दिएर यसलाई दिगो राख्नु जरुरी छ ।




