
बैंकिङ खबर/ सरकारले ट्रेजरी बिलमार्फत साढे २७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।
ट्रेजरी बिलमार्फत मात्र सरकारले २७ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । यो वर्ष सरकारले नयाँभन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । जसअनुसार यसअघि राष्ट्र बैंकले आह्वान गरेकोमध्ये धेरै पुरानो र थोरैमात्र नयाँ ट्रेजरी बिल विक्री गर्दै आएको थियो । यसपटक भने आह्वान गरेजति सबै (साढे २७ अर्ब रुपैयाँ बराबरको) ट्रेजरी बिल नै पुरानो बिक्री गर्न लागेको हो ।
यसपटक पनि २८, ९१, १८२ र ३६४ दिन अवधिका ट्रेजरी बिलको बिक्री हुँदैछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । पछिल्लो पटकको बोलकबोलमा ७.०४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ७.१४ प्रतिशत र सबैभन्दा कम ३.९८ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको थियो । चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारको योजना हो । त्यसमध्ये अधिकांश आन्तरिक ऋण उठाइसकेको छ भने निकै कम मात्र उठाउन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।



