Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारी खर्च दैनिक ७ अर्बमाथि हुँदा बैंकमा तरलता झनै बढ्यो

२०८० असार १५ गते

बैंकिङ खबर/चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारी खर्च दैनिक ७ अर्बमाथि रहेको छ । हिसाबकिताब फरफार गर्ने समय भएकाले सरकारको खर्च अर्थात् भुक्तानी समेत बढेको छ । यसले बैंक तथा वित्तीय संस्थामा पनि प्रभाव पारेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजीको मात्र थप हुँदै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यसरी लगानीयोग्य पुँजीको मात्रा बढिरहनुमा सरकारी भुक्तानीको समेत प्रभाव देखिएको छ ।

पछिल्लो समय संघीय सरकारको दैनिक भुक्तानी बढिरहेको छ । १२ गते ७ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ। १३ गते ७ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी भएको छ। १४ गते सार्वजनिक बिदाको दिनमा समेत १ अर्ब रुपैयाँ भुक्तानी भएको छ। असार महिना सुरु भएपछि नै सरकारले ५३ अर्ब रुपैयाँ खर्च गरेको हो।

जेठ मसान्त सम्म ११ खर्ब ७६ अर्ब रुपैयाँ खर्च भएकोमा अहिले त्यो खर्च १२ खर्ब २९ अर्ब रुपैयाँ भएको छ। यस भुक्तानीले पछिल्लो समय बैंकमा तरलता वृद्धिमा सहयोग गरिरहेको छ । राष्ट्र बैंकको अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ५५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रभावह ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। अहिले सीडी रेसियो अर्थात् ८३ दशमलव ९२ प्रतिशत रहेको छ भने अन्तर बैंक दर ५ प्रतिशत रहेको छ।