
बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तमा निक्षेपको अनुपात ह्वातै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुपातमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १०२.११ प्रतिशत पुगेको छ ।
चालू आर्थिक वर्षमा जिडिपी ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान छ । हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ६८ अर्ब पुगिसकेको छ । वाणिज्य बैंकहरूको मात्रै निक्षेप जिडिपीको अनुपातमा ८९ दशमलव ९९ प्रतिशत छ ।
जिडिपीसँगको कुल कर्जा अनुपात भने ९० दशमलव ६७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकको कुल कर्जाको अनुपात ८० दशमलव ३६ प्रतिशत छ । कुल निक्षेपको तुलनामा कुल कर्जाको अनुपात ८८.७९ प्रतिशत छ । त्यस्तै, कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) भने ८४.८८ प्रतिशत छ ।
वाणिज्य बैंकको मात्रै यस्तो अनुपात ८४.९७ प्रतिशत छ । कुल निक्षेपमा मुद्दतीको अंश ५९.५४ प्रतिशत छ । वाणिज्य बैंकहरूसँग मात्रै यस्तो अनुपात ५८.२० प्रतिशत छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात ३.३४ प्रतिशत पुगेको छ । वाणिज्य बैंकको ३.२३ प्रतिशत कायम छ ।



