Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकले व्याज बढाउने त्रासका कारण कर्जा लिनेहरु घटे

२०८० असार ३ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तको व्याजदर घटेको छ । बैंक तथा वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याज घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो ।
चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

सरकारले आगामी वर्ष मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएकाले ब्याजदर घटाउने स्पेस भए–नभएको विषयमा अध्ययन गर्नुपर्ने नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकको व्याजदर घटेपनि कर्जा प्रवाह भने हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ५.७४ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेको छ ।

राष्ट्र बैंकका अनुसार असार २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार २८ गते, आइतबारसम्म बैंकहरूको निक्षेप ५५ खर्ब ४५ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४८ खर्ब ९४ अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह भने सुस्त छ । वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४२ खर्ब ९७ अर्ब रूपैयाँमा स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ५३ अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) ८४.२७ प्रतिशतबाट घटेर ८४.१९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ६.१३ प्रतिशतबाट ५.७४ प्रतिशतमा झरेको छ ।

व्याज बढ्ने त्रास

बैंकको व्याजदर थप बढ्ने हो कि भन्ने त्रासका कारण कर्जा प्रवाहमा समस्या देखिएको छ। अर्कोतिर उद्योग, व्यवसायहरु त्यति राम्रोसँग फस्टाउन नसकेका कारण पनि उद्योगी व्यवसायीहरु ऋण लिएका छैनन् ।

अर्थशास्त्रीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च रहेकाले कर्जा लगानी बढ्न नसकेको बताउँछन् । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले मानिसहरुले विशेषत दुई किसिमको (व्यावसायिक र घरायसी) कर्जा लिने गरेको बताए । ‘अहिले मुलुक आर्थिक मन्दीको अवस्थामा छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा घरायसी कर्जा लिने पक्षमा मानिसहरु छैनन् ।’ खर्च बढाउने पक्षमा मान्छे नरहेको उनको भनाई छ । व्यावसायिक कर्जा लिएर उत्पादन गरिसकेपछि उक्त उत्पादन बिक्री हुन्छ भन्ने सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । अहिले मानिसहरुको क्रय शक्ति घट्दै गएको अवस्थामा उक्त सुनिश्चितता नभएको उनले बताए ।

‘त्यही भएर मानिस उत्पादन तथा व्यवसाय गर्नका लागि कर्जा लिन खासै उत्साहित छैनन’ उनले भने ।‘अहिले कर्जाको उच्च ब्याजदर तिरेर फाइदा गर्छु भन्ने सुनिश्चितताको अनुभूति मानिसले गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘मन्दी छ तर माग छैन । त्यसैले उच्च ब्याजदरका कारण कर्जा विस्तार हुन सकेको छैन ।’

यता नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले अर्थतन्त्रमा आएको सुस्तताका कारण बजारमा वस्तुको माग नै नभएपछि उद्योगी व्यवसायीले कर्जाको माग नगरेको बताउँछन् । ‘विगतमा १०० वटा वस्तुको माग थियो, अहिले ५० वटा वस्तुको पनि मुस्किलले माग छ’ उनी भन्छन्,‘यस्तो अवस्थामा कर्जा लिएर मात्रै के गर्ने ? व्यवसायीहरूले ऋण लिनका लागि उपयुक्त समय पर्खिएर बसेका छन्।’

अहिले बजारमा वस्तुको माग नहुँदा उत्पादन पनि घटाउनु परेकाले कर्जा नलिएको उनले बताए । अहिले व्याजदर पनि घट्दो क्रममा रहेको भन्दै उनले अब विस्तारै बजारमा वस्तुको माग पनि बढ्छ कि भन्ने आशा रहेको सुनाए। बजारमा माग सिर्जना भएको अवस्थामा कर्जाको माग बढ्न सक्ने अध्यक्ष अग्रवालको अनुमान छ।

‘बैंकले व्याजदर घटाउनुपर्छ’

सांसद दामोदर भण्डारीले बैंकले व्याजदर घटाउनुपर्ने बताउँछन् । संघीय, संसद्, प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकृत रुपमा भएको छलफलमा सञ्चालनमा रहेका उद्योगहरुसमेत बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै बैंकको ब्याज वृद्धि भएर सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ’खानी विभाग आज जनशक्तिविहीन अवस्थामा छ, जनशक्ति छैन, भएका खानीहरुमा अध्ययन गर्ने थुप्रै सम्भावना छन, फलाम खानी, तामा खानी, अरू थुप्रै खानीजन्य वस्तुहरु आज उत्खननको पर्खाइमा छन् ।’