
बैंकिङ खबर/असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। मंगलबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
बैंकहरुले अहिले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए। असरमा पनि यही ब्याजदर कायम गर्ने भएका हुन्।
गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ।
कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ। अहिले बैंकहरुको निक्षेप संकलन बढीरहेको छ भने कर्जा लगानी खासै बढेको छैन यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। तर पनि बैंकहरुले असारमा ब्याजदर नघटाउने निर्णय गरेका छन्।
वैैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असर महिनामा कर्जाको ब्याजदर भने घट्ने छ। नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो। बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले असारदेखि कर्जाको ब्याजदर घट्ने भएको हो।




