Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घरजग्गामा बैंकवित्तको लगानी बढ्यो : अर्थतन्त्र उकासीने आशामा व्यवसायीहरु

२०८० जेष्ठ २९ गते

बैंकिङ खबर/पछिल्लो समय घरजग्गा क्षेत्रमा बैंकहरुको लगानी बढ्न थालेको छ । सरकारले घरजग्गा क्षेत्रलाई खुकुलो बनाई चलायमान बनाउने नीति लिएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)मा २४ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी भएको छ । १० महिनामा भएको यो कर्जा लगानी ४.३ प्रतिशतले वृद्धि हो ।

घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये १० अर्ब ९ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा हो भने १४ अर्ब ३० करोड रुपैयाँ रियलस्टेट कर्जा हो । अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको शिर्षकमा गणना गर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दो तरलता र घट्दो ब्याजदरका कारण घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्न थालेको हो । चैतसम्म ९ महिनामा बैंकहरुले घरजग्गा क्षेत्रमा २२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फागुन मसान्तसम्म यस्तो कर्जा १४ अर्ब ५८ करोड मात्रै थियो । पछिल्लो दुई महिना घरजग्गा क्षेत्रमा प्रवाह भएको घरजग्गा कर्जा वृद्धिले सुधारको संकेत देखिएको छ ।

बैंकमा तरलता अभाव, चर्को ब्याजदर, राष्ट्र बैंकले घरकर्जामा गरेको कडाईलगायत कारणले भदौपछि कर्जा प्रवाह सुस्त थियो । तर, पछिल्लो समय तरलतामा सुधार हुनुका साथै ब्याजदर समेत घट्दै गइरहेको छ । बैंकहरुले सस्तो ब्याजदरमै घरजग्गा कर्जाको अफर ल्याउन थालेका छन् ।

चालु आवको १० महिनामा रियलस्टेट शिर्षकमा प्रवाह भएको १४ अर्ब ३० करोडमध्ये रेसिडेन्सियल रियल इस्टेट कर्जा (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) दुई अर्ब ८० करोड रहेको छ ।

यस्तै, कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ४ अर्ब ७८ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा ४ अर्ब ४२ करोड, जग्गा खरिद तथा प्लटिङमा ४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गा क्षेत्रमा बैंकहरुको लगानी बढ्न थालेसँगै व्यवसायीहरु भने अर्थतन्त्र उकासीनले आशामा पुगेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीका अनुसार नेपालको घरजग्गा व्यवसायमा साढे ५ खर्बभन्दा बढी लगानी रहेको छ । घरजग्गा व्यवसायमा लगानी बढ्न थालेसँगै अर्थतन्त्र उकासिने आफूहरुमा आशा पलाएको लोहनीले बताए ।

यता आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन खुकुलो बनाउने तयारी गरेको छ । यतिबेला राष्ट्र बैंकले मौद्रिक नीतिको गृहकार्यमा जुटेको छ ।

घरजग्गा क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो बनाउने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा व्यसायीलाई भेटेरै मौद्रिक नीतिका लागि सुझाव लिएका थिए ।

गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा आगामी मौद्रिक नीतिले खुकुलो व्यवस्था गर्ने आश्वासन दिएका छन् । राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा परेको असरलाई नजिकबाटै अनुभव गरिरहेको उनको भनाई थियो ।

नेपाल जग्गा तथा आवास विकास महासंघले गभर्नर अधिकारीलाई रियल स्टेट कम्पनीहरुलाई ‘लोन टु भ्यालु रेसियो’ ७० प्रतिशत पुर्याउन माग गरेको छ ।

महासंघ टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेहरुको किस्ता मूल्यांकन बढाइदिन समेत माग गरेको छ । अहिले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न पनि महासंघको टोलीले आग्रह गरेको छ ।